काठमाडौं । जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भएपछि चिन्तित देखिएका छन् ।
मध्यावधि निर्वाचनमा जानेबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मत मिलेका बेला बाबुरामले चिन्ता व्यक्त गरेका हुन् । यसलाई उनले प्रतिगमनको नयाँ संस्करणका रुपमा टिप्पणी गरेका छन् ।
शुक्रबार ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाँ संस्करण आउन सक्ने बताएका हुन् । उनले अर्लि इलेक्सनको नाममा पुनः कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेस, जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इंकित गर्दै भट्टराईले पूर्वमाओवादीहरू एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । उनले पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र संगठनको आवश्यकता रहेको औँल्याए । पूर्वमाओवादीहरू एकै ठाउँमा नभई नयाँ ठाउँमा आबद्ध हुनुपर्ने उनको भनाइ थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !