काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मागत कटवालको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । उनका दुवै मृगौलाले काम गर्न छोडेपछि डाइलसिस गराउँदै आएका कटवालको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि हाल उनलाई छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ ।
कटवाललाई एक हप्तादेखि नै आइसीयुमा राखेर उपचार गरिँदै आएको भए पनि यो समाचार कसैले खुलाएको थिएन । छाउनी अस्पताल श्रोतका अनुसार हप्ताको दुई दिन डाइलसिस गराउँदै आएका कटवाललाई पल्मनेरि ह्यामरेज भएपछि चिकित्सकको सल्लाहमा आइसीयूमा राखिएको हो ।
२०६३ सालको भदौ २४ गतेदेखि नेपाली सेनाको नेतृत्व सम्हालेका कटवाललाई २०६६ सालको बैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । प्रचण्ड नेतृत्वको सरकाले उनलाई सरकारको निर्णय कार्यान्वयन गर्न अवज्ञा गरेको भन्दै कारबाही गरेको हो ।
सरकारले उनलाई बर्खास्त गरेर उनको ठाउँमा कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने निर्णय गरेपनि राष्ट्रपति रामवरण यादवले कटवाललाई नै प्रधानसेनातिमा थमौती गरेका थिए ।
राष्ट्रपति यादवले कटवाललाई थमौती गरेपछि दोहोरो सत्ता अभ्यास भएको भन्दै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता प्रचण्डको प्रधानमन्त्री पद खोस्ने प्रधानसेनापतिका रुपमा उनी विवाद र चर्चामा आएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !