काठमाण्डाैं ।
कुरा ५ वर्ष अघिको हो। त्यतिबेला म ‘बूढासुब्बा म्यूजिक’मा काम गर्थेँ। त्यहीताका अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘प्रेम गीत’ प्रदर्शनमा आयो। त्यस वर्ष यो फिल्म बक्स अफिसमा सफल भयो। हरेकजसो फिल्मी अवार्डमा ‘प्रेम गीत’को वर्चश्व देखिन्थ्यो।
कथा, गीत–संगीत लगायतका विधामा फिल्मले अवार्ड जितिरहेको थियो । फिल्मकी शीर्ष पात्र पूजाको हातमा अवार्ड परिरहेको थिएन। त्यही वर्षको डी. सिने अवार्ड पोखरामा भयो। उत्कृष्ट ५ अभिनेत्रीको सूचीमा परेकी पूजा पनि अवार्डमा सरिक भइन्।
यस फिल्ममा अभिनेता प्रदीप खड्काको प्रशंसा भइरहँदा पूजाको खासै चर्चा भएको थिएन। ‘थ्री लभर्स’बाट रजतपटमा देखिएकी पूजाले अभिनय गरेका झण्डै आधा दर्जन चलचित्र रिलिज भइसकेका थिए। आधा दर्जन चलचित्रबाट पनि सफलता नपाएकी पूजालाई ‘प्रेम गीत’को सफलताले राहत दिएको थियो।
त्यसैले यो फिल्म प्रदर्शन भएपछि दर्शकले अभिनयको तारिफ नगर्दा पनि उनको शान बेग्लै देखिन्थ्यो। सायद त्यो वर्षको डी. सिने अवार्ड आफ्नो पोल्टामा पर्ने पूजाको आशा थियो। तथापि उनलाई पछि पार्दै नम्रता श्रेष्ठले अवार्ड जितिन्। अवार्ड समारोहमा पूजाको हाउभाउ अनौठो देखिन्थ्यो। तर अवार्ड नपाएपछि उनले आयोजक निष्पक्ष नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन्।
यही समाचार बूढासुब्बा म्युजिकले ‘नायिका पूजा शर्माको रूवाबासी’ शीर्षक राखेर युट्युबमा हाल्यो। जुन भिडिओ अहिले पनि हेर्न सकिन्छ।
त्यतिबेला समाचारकै विषयलाई लिए पूजाले मलाई छोरी मान्छेको सम्मान गर्न सिक्नु भनेर लामो म्यासेज लेखेकी थिइन्। उनले भनेकी थिइन् ‘एउटा केटी भएर अर्को केटीबारे जथाभावी लेख्ने?’
उनले त मलाई, ‘तँ हेर्दै जा म के गर्छु’ भनेर धम्की नै दिएकी थिइन्। पूजाले भनेकी थिइन्, ‘भगवान छन्, भगवानले तँलाई माफी दिँदैनन्।’ तर अहिले परिस्थिति फेरिएको छ। एक नाबालिग गायिकाले आफ्नो सांगीतिक करिअर र सामाजिक करिअर दुवै दाउमा लगाएर आफूमाथिको जवरजस्ती करणीमा उजुरी दर्ता गराएकी छिन्।
उक्त उजुरीमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिहेको छ। आरोपित अभिनेता पल शाह अहिले प्रहरीको हिरासतमा छन्। हिजो एउटा समाचार लेख्दा छोरी भएर छोरीविरुद्ध बोल्ने भनेर आगो ओकल्ने पूजाका अहिलेका अभिव्यक्ति हेरिरहेकी छु। उनी भनिरहेकी छिन् ‘पलले बलात्कार गर्न खोजेको भए पनि नाबालिगले नै नाइँ भन्नुपर्ने।’
झन् अचम्म लागिरहेको छ, बलात्कृत हुन युवतीलाई बन्धक बनाएर, लुगा च्यातिदिएर, लछारपछार पार्नुपर्ने पूजाको मानसिकता देखेर। पललाई भेट्न दमौली पुगेकी पूजाले कुनै पल सोचिन् या सोचिनन् मेरो तामझाम र आरोपितको पक्षमा माहोल बनाउन दिएको साथले पीडितको मनोबल गिर्छ भनेर।
उनी त हिजो कसैले बोलेको भरमा ममाथि हिंसा भयो भनेर रुँदै, हिँडेको बिर्सिएर भनिरहेकी छिन्, ‘पलले कपडा च्यातिदिने जबरजस्ती गरे जस्तो मलाई लाग्दैन। पल त्यस्तो क्यारेक्टरको मान्छे होइन।’
उनले आज भुलेकी छन्, एक समय प्रेमीले आफ्नो भावनासँग खेल्यो भनेर झार्दै हिँडेको आँसु। त्यसैले त आफ्नो फिल्म सफल बनाउने नाममा पीडितलाई झन् पीडा दिने गरी जथाभावी बोलिरहेकी छन्।
पूजा फिल्म उद्योगमा मात्रै होइन, व्यक्तिगत जीवनमा पनि संघर्ष गरेकी मान्छे हुन् पूजा। सानै उमेरमा फिल्ममा लगानीको हिम्मत, दर्शक हलसम्म तान्न सक्ने आँट र उनको लोकप्रियता फिल्म उद्योगकै सम्पत्ति हो।
कलाकार समाजको गहना मात्रै होइनन्, आदर्श पनि हुन्। तर आफ्ना ब्यानरका केही फिल्ममा लगानी गरेर अभिनय गर्दैमा आदर्श बन्न सकिँदैन भन्ने कुराको उदाहरण बनेकी छन् उनै पूजा। उनका पछिल्ला अभिव्यक्ति र कृयाकलापले आफैँ ट्रोलको सिकार भइरहेकी छिन्। तथापि भनिरहेकी छिन्, ‘आलोचना सहने बानी भइसक्यो।’
बलात्कारपछि मारिएकी निर्मला पन्तको न्यायका लागि देशभर आन्दोलन भइरहँदा धेरैले भनिरहेका थिए, ‘यही जुलुसमा सबैभन्दा चर्का नारा लगाउँदैछन बलात्कारी। उनीहरुको मुकुण्डो कस्ले उतारिदिन्छ र देखिन्छ कुरुप अनुहार।’
अहिले पल प्रकरणले अभिनेत्री पूजा शर्माको मुकुण्डो नराम्रोसँग उतारिएको छ। फिल्ममा अभिनय गरेर लेप लागेको उनको सुन्दरता उतारिरहेको छ, उनकै अभिव्यक्तिले। उनको कुरुप अनुहार छताछुल्ल भइरहेको छ।
विश्व प्रसिद्ध फुटबल क्लब म्यानचेस्टर युनाइटेडका युवा स्ट्राइकर म्यासन ग्रीनउडको यस्तै प्रकरण ताजै छ। उनी १८ वर्ष मुनिकी प्रेमिकासँग यौन सम्बन्ध बनाएका कारण जेल परे, धरौटीमा रिहा भए। उनका पनि विश्वभर फ्यान थिए। त्यहाँ कोही पनि ‘जस्टिस फर ग्रीनउड’ भनेर निस्किएनन्।
अर्को क्लब म्यानचेस्टर सिटीका चर्चित डिफेन्डर बेन्जामिन मेन्डी एक वर्षदेखि जेलमा छन्। उनीमाथि एकजना होइन, ६ जनाभन्दा धेरै बलात्कार आरोप लगाएका थिए। उनीमाथि आरोप लाग्नेबित्तिकै क्लबले निलम्बन गरेको थियो। आफ्नो अपराधको सजाय उनी अहिले बेलायती जेलमा भोगिरहेका छन्।
हाम्रोमा त्यस्तै केसमा न्यायिक हिरासतमा रहेका व्यक्तिका लागि नारा जुलुस हुुनु, त्यही भीडमा समाजले आइडल मानेका कलाकार देखिनु लज्जास्पद भएको छ। चलचित्रमार्फत सामाजिक सचेतना बाँड्छु भन्ने पूजाले गुमाएको संवेदना लाजको विषय मात्रै बनिरहेको छैन, उनको अभिव्यक्तिले नियम, कानुन र सामाजिक सभ्यताको धज्जी उडाइरहेको छ।
शारीरिक सम्बन्धपछि ‘तिमी गर्भवती छैनौ, किन स्वीकारर्ने?’ भन्ने प्रेमीको आवाजसँग टुटेर विक्षिप्त नाबालिगको पीडामा थपडी बजाइरहेकी पूजा आफ्नो फिल्म चलाउन दर्शकसँग पनि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरिरहेकी छिन्।
यो समय पनि पूजाका केही वाक्य प्रशंसा गर्न लायक छन्। उनले पलसँग थुप्रै प्रोजेक्टमा सम्झौता भएको। पल हिरासतमा पुगेपछि थुप्रैले हटाएर आफूलाई राख्न आग्रह गरेको। तर, पल छुटेर आएमा उसैलाई लिएर काम गर्ने आफ्नो चाहाना रहेको अभिव्यक्तिमा मैले मित्रताप्रति इमान्दारीता देखेथेँ।
पल अहिले आरोपित मात्रै हुन्। उनको आरोप अनुसन्धानका क्रममा छ। त्यसैले उनका शुभचिन्तकलाई निर्दोष सावित हुन्छन् भन्ने विश्वाससँग कसैको रिस हुनु हुँदैन। मेरो पनि छैन। मैले त पहिले नै उल्लेख गरिसकेकी छु, ‘पल दोषी सावित भएर सजाय भोग्न गएछन् भने पनि उनीप्रति घृणा पलाउने छैन। उनका अहिलेसम्मका राम्रा कामको सधैँ प्रशंसा गर्नेछु।’
पल निर्दोष होउन् भनेर भाकल नै गर्न पनि पूजाले पाउँछिन्। तर पीडितको विपक्षमा जथाभावी बोल्ने, पीडितको चरित्रमा प्रश्न खडा गर्ने अधिकार उनलाई छैन, यो बुझ्नु पर्ने कुरा हो।
उनका अभिव्यक्ति सुन्दा र हेर्दा लाग्छ उनलाई कानुनी ज्ञान समेत छैन। हुन त पूजा फिल्मबाहेक अन्य कुराको सामान्य जानकारी राख्ने कलाकारमा पर्दिनन्। यो त उनले दिएका अभिव्यक्तिले प्रष्टाएको छ।
नेपालमा १४ जिल्ला रहेको सार्वजनिक अभिव्यक्ति दिने पूजाले देशको कानुनको ख्याल नगरी पीडितलाई पीडा दिनेगरी अभिव्यक्ति दिइरहँदा अनौठो मान्नु पर्ने अवस्था छैन। तथापि हिजो एउटी महिलाले महिलाबारे बोल्दा विचार गर्नु पर्छ भनेर पाठ सिकाउने पूजाले त्यही पाठ बिर्सिएको देख्दा उदेक लाग्छ।
पल प्रकरणपछि बलात्कारसम्बन्धी कानुन नै संशोधन गर्नुपर्ने कोणबाट पनि चर्चा सुरु भएको छ। मानिसहरुले पछिल्लो समय खानपिन र प्रविधिको सहज पहुँचका कारण युवामा विकसित हुने मनोभाव र शारीरिक विकासलाई पनि कानुनले सम्बोधन गर्नुपर्ने माग राख्दै आएका छन्।
यो छुट्टै बहस विषय बन्ला। बहस होला। कानुन संशोधन होला, त्यो अर्कै पाटो भयो। तर अहिलेसम्मको कानुनमा पलले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको प्रमाणित भएमा त्यसलाई बलात्कार भनेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !