विराटनगर । नेपाल–भारत सीमा जोगवनी विराटनगर– १७ इस्लामपुर नेपाली भूमिमा निर्माण गर्न लागिएको नालामा हस्तक्षेप गरेर भारतीय सरक्षाकर्मीले रोक लगाएको छ । भारतीय बजार जोगवनीबाट बगेर आएको पानी वर्षा याममा सो स्थानमा डुबानमा पर्ने खतरा देखिएपछि पानी निकासका लागि निर्माण गर्न लागिएको नाला भारतीय प्रहरी सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको हो ।
डुबानबाट जोगाउनको लागि नेपालभित्र इस्लामपुरमा पक्कि नाला निर्माण सुरु गर्न नपाउँदै एसएसबीले धाकधम्की दिँदै रोक लगाएको स्थानीयहरुको भनाइ छ । प्रत्येक वर्ष सो स्थानमा डुवान हुने गरेकाले आफूहरुले त्यस्तो खतरा उत्पन्न नहोस् पानी निकास गर्नका लागि नाला बनाउन लागेको उनीहरु बताउँछन् ।
‘दुई सय मिटरको नाला निर्माण गर्न खोज्दा एसएसबीले अवरोध गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय मारङले छलफलपछि यस विषयलाई टुंग्याउने भनेको थियो । तर, अहिलेसम्म केही खबर पाइएको छैन,’ विराटनगर-१७ का वडा अध्यक्ष समीम कमरले भने । उनका अनुसार इस्लामपुरमा रहेका एक सय घरपपरिवार वर्षेनी डुबानबाट पीडित हुने गरेका छन् ।
वर्षायाममा पानी जम्ने भएकाले नाला निर्माण गरेर पानी कटाउन लाग्दा एसएसबीको अवरोधका कारण नाला निर्माण हुन नसकेको उनी बताउँछन् । नेपालबाट पानी निकास गरेर भारततिर डुबाउ गर्न लागेको भनेर एसएसबीले रोकेको भन्दै नाला निर्माण गर्न रोक लगाएको छ भने दशगजा क्षेत्रमा नाला निर्माण गरेर भारतले मटेर्वा नाका, राईसमिल र रामसेवी र इस्लामपुर टोलमा पठाएको छ ।
नाला निर्माण रोकिएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भारतीयसँग् वार्ता गरेर समस्या समाधान गर्ने प्रतिकृया दिएका छन् । हाल विराटनगर १७ र १८ वडामा पर्ने जोगबनी बजारसँग जोडिएको सिमावर्ती बस्तीहरुमा ३ सय घर परिवारको बसोबास रहेको छ । दार्चुलामा तुइनको तार काटेर जयसिंह धामीको हत्या गरेको खबर सेलाउन नपाउँदै एसएसबीको अर्काे दादागिरी जोगवनीमा देखिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !