सुर्खेत – जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्।
बेलुका ७ बजे कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेकाहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।
उनीहरुले कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालयभित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्वारीपन ? भन्दै नेकपा भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेका छन्। यसवारेमा बुझ्न खोज्दा आफ्नै क्वाटरको बाहिर साथीभाइ बसिरहेको कार्यालय प्रमुख धितालको भनाई छ तर प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताएका छन् ।
२६३ जना सवारी चालक कारबाहीमा
काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको हो ।
कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । आज बिहान मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारबाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ ।
आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई कारबाही गरेको हो ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !