काठमाडौँ — मोहन लामा थाङ्का आर्ट गरेर गुजारा चलाइरहेका थिए । उनकी ठूलीआमाका छोरा विसम लामा होटलको कुक थिए । सानीआमाका छोरा युवराज भने रोजगारीको खोजीमा । युवराजले एक दिन मोहन र विसमलाई टर्की जाने कुरा सुनाए । आफूले प्रक्रिया सुरु गरिसकेको बताउँदै उनले दुवैलाई सामाखुसीमा गुरुदेव मेडिकल चलाउने पूर्णिमा बस्नेतको सम्पर्क नम्बर दिए । महिनाको ५ सय डलर कमाउन सकिने प्रलोभनमा परेका तीनै जना टर्की जाने योजनामा पुगे ।
युवराजले जसरी टर्कीको प्रक्रिया चाले, उनीहरूले पनि त्यही बाटो रोजे । सुरुमा सामाखुसी पुगेर पूर्णिमालाई भेटे । पूर्णिमाका बाबु किस्मत भनिने लक्की सिंह टर्कीमा बस्ने र उनैले सबै प्रक्रिया मिलाइदिने जानकारी मोहनले पाए । मोहन र विसमले पूर्णिमालाई जनही ५० हजार नगद हातैमा थमाइदिए । त्यसपछि उनीहरूको सम्पर्क टर्की बस्ने लक्कीसँग भयो । लक्कीले भनेअनुसार सुनिता थापा क्षत्रीको बैंक खातामा यी दुईले एक/एक लाख र तेस्रो चरणमा स्वयम्भू बस्ने कविता सापकोटाको खातामा डेढ/डेढ लाख रुपैयाँ जम्मा गरिदिए ।
लक्कीले उनीहरूलाई टर्कीको ‘इलाइट टुरिजम यत्रिम ए एस’ नामक कम्पनीको कागजात पठाएर व्यक्तिगत श्रम स्वीकृतिका लागि जीवन भट्टलाई भेट्न अह्राए । भट्टलाई जनही ९० हजार बुझाएपछि श्रम स्वीकृतिको कागजात हात पर्यो । टर्की जाने मोहन र विसमसहित यही प्रक्रिया अपनाएर उड्न लागेकी अञ्जना थापा पनि भेटिइन् । उनीहरू तीनै जना टर्कीको इस्तानबुल पुगेर लक्कीले भनेअनुसार ताक्सिम स्क्वायर पुगे । उनीहरूलाई अन्डरग्राउन्ड शैलीको एउटा कोठामा पुर्याइयो । जहाँ दुई महिनाअघि नै टर्की उडेका सानीआमाका छोरा युवराजसहित सुर्खेतमा प्रेम सिजापती र नुवाकोटकी माया तामाङ पनि थिए । त्यही अँध्यारो कोठामा २० दिनसम्म बन्धकझैं बसेपछि लक्कीले कोरोनाका कारण भनेअनुसार काम दिलाउन नसकेको भन्दै छिमेकी देश ग्रिस पठाइदिने प्रस्ताव गरे । तर त्यसका लागि जनही २३ सय युरो अर्थात् तीन लाखभन्दा धेरै जम्मा गर्नुपर्ने थियो ।
‘यतिका धेरै पैसा फसिसक्यो । अब केही लाख खर्चेर राम्रो हुन्छ भने किन नजाने भनेर हामीले उसको कुरा मान्यौं,’ २४ वर्षीय मोहनले सुनाए । समयमै भनेजति पैसा जुटाउन नसक्दा विसम भने ताक्सिममै छुटे । मोहनका अनुसार ग्रिसको सिमानातिर लैजाने बेला भ्यानमा २१ जना थिए । एउटै कोठामा बसेका चारसहित अन्य पाँच नेपाली र १२ पाकिस्तानीलाई अवैध रूपमा सीमा कटाउन दुई जना एजेन्ट खटिएका थिए । तर बाटोमै ग्रिक प्रहरी देखेपछि डोंकर (अवैध रूपमा सीमा पार गराउन प्रयोग गरिने व्यक्ति) ले उनीहरूलाई अगाडि बढाउन सकेनन् । त्यसपछि आफूसहित ९ जना नेपाली भागेर फेरि ताक्सिम नै फर्किएको मोहन बताउँछन् । लक्कीका एजेन्टले नै उनीहरूलाई अलग्गै कोठामा राखे । दुई सातापछि एजेन्टले फेरि खबर पठाए, ‘अब बाटो ठीक छ, सजिलै ग्रिस छिर्न सकिन्छ ।’
मोहनका अनुसार अवैध रूपमा ग्रिस छिर्ने दोस्रो प्रयासमा भने ३० नेपाली थिए । बोर्डर छेउको जंगलमा फोहोर फाल्न प्रयोग हुने प्लास्टिकभित्र गुजुल्टिएर पहिलो रात कटाएको मोहन सम्झिन्छन् । बिहान ४ बजे नै उनीहरूलाई डोंकरले हिँडाए । त्यो दिन पानी परिरहेको थियो । अत्यधिक चिसोले खुट्टा र हात कक्रक्क परेर सुन्निन थालेको थियो । ‘दिनभर जंगलमा सुत्दा अनि लगातार तीन रात हिँड्दा त बाटैमा मरिन्छ कि जस्तो लागेको थियो,’ उनले भने ।
सुरक्षाकर्मीले देख्छन् भनेर डोंकरले राति लाइट बाल्न पनि दिँदैनथे । हिँड्न नसक्नेलाई कि पिट्थे कि त जंगलमै छाडिदिन्थे । तीन रात हिँडेपछि अझै यसरी अघि बढ्न सकिन्न भन्ने सोचमा उनीहरू पुगिसकेका थिए । चौथो बिहान मोहनसहितका सात जना भागेर टर्कीतिरै फर्किन लागे । ‘हिँड्दाहिँड्दै चार जना साथी जंगलमै छुटे,’ उनले भने, ‘हामी पाँच जनालाई भने ग्रिस प्रहरीले समातेर २४ घण्टा थुनामा राख्यो ।’ थुनाबाट छुट्दा उनीसहित तीन जनाको जीउमा भिजेको कपडा थियो भने खुट्टामा जुत्ता थिएन । जेनतेन सीमा सुरक्षाको आँखा छल्दै टर्की आइपुगे । लक्कीले पैसा फिर्ता दिइहाल्छन् कि भनेर उनी एक महिना टर्कीमै अड्किए ।
२० दिनसम्म कोठामा सँगै बसेका साथीहरू ग्रिस जाने भन्दै हिँडेपछि विसमको लक्कीसँग भनाभन नै पर्यो । ‘होटलको काम लगाइदिने भनेर मलाई अलपत्र पारेको थियो, त्यही विषयमा झगडा पर्यो,’ विसम भन्छन् । त्यसको पाँच दिनपछि लक्कीले विसमसहित नेपालबाट लगेका अन्य दुई जनालाई गार्मेन्ट फ्याक्ट्रीमा काम लगाइदिए । विसम काममा पुग्दा त्यहाँ उनीजस्तै अरू पाँच जना नेपाली पनि थिए । ‘२० केजी तौलको कार्टुन बोकेर तीन तल्लामाथि पुर्याउने काम देखेर बरु दुःख लागेन,’ उनी भन्छन्, ‘हामीभन्दा अघि काम गर्ने पाँच जनाले कैयौं महिनाको तलब नपाएको सुनेर पो झस्कें ।’
तलब पाइने टुंगो नभएको बुझेपछि ७ सय टर्किस लिरा कम्पनीको म्यानेजरलाई घूस बुझाएर उनी फुत्किए । यसरी दुःखको लामो यात्रा पार गरेका विसम आफूजस्तै हैरानी खेपेका अन्य दुई साथीसँगै माघको अन्तिम साता नेपाल फर्किए ।
संगठित मानव तस्करको फन्दामा परेर टर्की पुगेर भुक्तमानी खेप्नेमा मोहन र विसम मात्रै छैनन् । उनीहरूले भोगेको कथाले व्यक्तिगत श्रम स्वीकृतिमा टर्की पुग्नेहरूलाई कसरी एजेन्टले अवैध रूपमा ग्रिस छिराउन खोज्छ र त्यसक्रममा नेपालीले कस्ता सास्ती खेप्छन् भन्ने पनि बुझाउँछ ।
एउटै गिरोहको जालो
दुई वर्षअघि कतारबाट फर्केकी २३ वर्षीया सहारा सिलवालसँग एक वर्ष प्रवासमा काम गरेको अनुभव थियो । बाबुको मृत्युपछि आमासहित उनी पनि विसम र मोहनकै गिरोहको फन्दामा परे । सहाराका अनुसार अन्यले झैं उनीहरू पनि पूर्णिमामार्फत नै लक्कीसँग सम्पर्क राखेर इलाइट टुरिजम यत्रिम ए एसमा काम गर्ने गरी व्यक्तिगत श्रम स्वीकृति निकालेर गत वर्षको असोज २२ मा टर्की पुगेका थिए । लामो समय अलपत्र परेपछि सामान्य होटलमा काम त पाइन् तर भनिएअनुसार तलब ९० हजार नदिने भएपछि उनले कामै छाडिन् । एजेन्टले आफूलाई फसाएको बुझेपछि सहारा मंसिर पहिलो साता नेपाल फर्किन् ।
उनी फर्केपछि लक्कीले उनकी आमालाई ग्रिस लैजाने भन्दै लगे । कहिले प्रहरीले पक्राउ गर्ने त कहिले सेटिङ बिग्रेको भन्दै एजेन्टले सीमा क्षेत्रमा पुर्याउँदै फर्काउँदै गर्दा आमाले मानसिक र शारीरिक तनाव भोग्नुपरेको सहाराले बताइन् । ‘कैयौं रात जंगलैजंगल हिँडाए पनि आमा ग्रिस छिर्न सक्नुभएन,’ उनले भनिन् । छोरी फर्केको करिब तीन महिनापछि आमा पनि नेपाल फर्किन् । ‘आमाछोरीको १२/१३ लाख रुपैयाँ फस्यो,’ उनको प्रश्न छ, ‘अब हामीलाई कसले न्याय दिन्छ ?’
टर्कीमा बसेर संगठित मानव तस्करीको जालो चलाइरहेका लक्कीको तस्करी पासोमा पर्ने एक दर्जनभन्दा धेरै नेपाली कान्तिपुरको सम्पर्कमा छन् । पीडितहरूका अनुसार काठमाडौं बस्ने लक्कीकी छोरी पूर्णिमा र श्रम विभागका कर्मचारीसँग सम्बन्ध बनाएका केही एजेन्टमार्फत लक्कीले व्यक्तिगत श्रम स्वीकृतिमा दर्जनौंलाई टर्की पुर्याइएको देखिन्छ । अधिकांश पीडितको भनाइ सुन्दा लक्कीले निकै चलाखीपूर्ण तरिकाले मानव तस्करी र हुन्डीको कारोबार पनि समानान्तर ढंगले अगाडि बढाएको बुझिन्छ ।
मच्छेगाउँ–रत्नपार्क रुटमा बस चलाउने २९ वर्षीय रामकुमार तामाङ र उनका गाउँले भीमसेन तामाङसहित दाङका अन्य दुई युवा पनि पूर्णिमालाई नै पैसा बुझाएर टर्की पुगेका थिए । गत वर्ष फागुन २६ गते उनीसहितका चार जना टर्की त पुगे तर दुःख मात्रै पाए । टर्की पुग्दा उनीहरूलाई राखिएको कोठामा ११ जना नेपाली पहिल्यै पुगेका रहेछन् । ‘चार लाख रुपैयाँ बुझाउने बेला लक्कीले ड्राइभिङ भिसा भनेका थिए तर श्रम स्वीकृति हात पर्ने बेलामा पो थाहा भयो, हाउस किपिङको भिसा रहेछ,’ राम भन्छन् ।
रामको भनाइअनुसार लक्कीले ठूलो संगठित समूहमार्फत दर्जनौं नेपालीलाई आकर्षक रोजगारीका अवसरमा त्यहाँ पुर्याएको देखिन्छ । कैयन् दिनसम्म कामविहीन बनाएर राखेपछि उनीहरूलाई पनि लक्कीले गार्मेन्ट फ्याक्ट्रीमा काम लगाइदिए । ‘बान्ता आउला जस्तो खाना दिने अनि १४/१५ घण्टा काममा खटाउने देखेपछि हामी भोलिपल्टै त्यो काम छाडेर फर्कियौं,’ भीमसेनले भने । अरूलाई जस्तै लक्कीले राम र भीमसेनलाई पनि ग्रिस छिराउन खोजेका थिए । तर ग्रिस गएर फर्केकाहरूको दुःख सुनेपछि उनीहरूले आँट गरेनन् ।
लक्कीले दोस्रो पटक उनीहरूलाई एउटा लसुन प्याकिङ गर्ने कम्पनीमा काम मिलाइदिए । त्यहाँ अरू ७/८ नेपाली पहिलेदेखि नै काम गर्दा रहेछन् । ४५ दिन काम गर्दा पनि २० दिनको भन्दा तलब दिन नमानेपछि राम र भीमसेनसहित तीन जनाले काम छाडे । नेपालमा भनेअनुसार कुनै काम नपाएपछि र दुःख मात्रै पाइने देखेपछि उनीहरू पुसको दोस्रो साता नेपाल फर्किए । राम भन्छन्, ‘हामी दुई जनाले मात्रै दस लाखभन्दा धेरै पैसा डुबायौं ।’
दुबईमा ९ वर्ष काम गरेको अनुभव बटुलेर सन् २०१९ मा नेपाल फर्केका जावलाखेलका सविन राना मगरले पनि टर्की यात्रामा १० लाखभन्दा धेरै रकम फसाए । लक्कीकै गिरोहमार्फत टर्की पुगेका उनले त्यहाँ सास्ती मात्रै भोगेनन्, ज्यान जाने खतरा पनि देखे । एजेन्टले टर्कीबाट ग्रिस छिराउन नसकेपछि र सोचेभन्दा धेरै दुःख खेपेपछि उनीसहितका दुई साथी फागुन १० मा नेपाल फर्किए । उनले भने, ‘मेरो जसरी पैसा फस्ने दर्जनौं साथीहरू छन् ।’ दोलखा घर भएका विकास घिमिरेले पनि टर्की जाने आसमा ५० हजार फसाइसकेका छन् ।
धन्न उनले बेलैमा संगठित मानव तस्करीको गिरोहमा आफू फस्न आँटेको चाल पाए र बाँकी पैसा बुझाएनन् । लक्कीकै भनाइमा भर परेर उनले त्यतिका पैसा फसाएका थिए । ‘मैले सुनेअनुसार अरू पनि ४/५ जनालाई यही समूहले टर्की उडाउँदै छ,’ उनले भने, ‘तिनीहरू पनि कुन सास्ती भोगेर र पैसा फसाएर फर्किने हुन् ।’
टर्कीबाट फर्किएकाहरूले दिएको उजुरीकै आधारमा गत बिहीबार प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले काठमाडौंको माछापोखरीबाट पूर्णिमा सिर्पाली बस्नेत र जीवन भट्टलाई पक्राउ गर्यो । ब्युरोका अनुसार भट्टले टर्की जानेहरूलाई व्यक्तिगत श्रम स्वीकृतिको कागजात बनाउने गरेका थिए । उनले सहारा र उनकी आमासँग मात्रै श्रम स्वीकृतिको कागजात बनाएबापत ५३ हजार बुझेको प्रहरीले जनाएको छ ।
सबैजसो पीडितले पैसाको डिल गर्ने मुख्य व्यक्ति लक्कीले पूर्णिमालाई छोरीका रूपमा चिनाए पनि ब्युरोको बयानमा पूर्णिमाले लक्की आफ्नो बाबु नभएको बयान दिएकी छन् । यो घटनाबारे अनुसन्धान गरिरहेका एक प्रहरीले संगठित ठगीको जालोमा नखुलेका धेरै पाटा हुन सक्ने बताए ।
कान्तिपुरसँगको कुराकानीमा ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले आमाछोरीको उजुरीलगत्तै पूर्णिमा र जीवन पक्राउ परेपछि सोही गिरोहले ठगेका अन्य ६/७ जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको बताइन् । ‘पीडितहरूको प्रारम्भिक बयान हेर्दा टर्कीमा मानव तस्करी गर्ने समूहको फन्दामा धेरै नेपाली परेको देखिन्छ,’ उनले भनिन् । कान्तिपुर बाट
आफ्नो प्रतिक्रिया दिनुहोस् !