काठमाडौ । कोरोना महामारी फैलिएका मुख्य शहरहरुमा अहिले स्थानिय सरकारले निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञाका कारण होटल रेष्टुरेष्ट बन्द छन् । जसका कारण अस्पतालमा उपचारका लागि आफन्त ल्याएकाहरुले खाना समेत खान पाएका छैनन् । यस्तो अवस्थामा बाँकेको नेपालगन्जमा भने अस्पालका विरामी र आफन्तहरुले २० रुपैयामै स्वास्थ्यवर्दक खाना खान पाइरहेका छन् ।
पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज भारतीय सिमानाको वजार हो । त्यहाँ हजारौं मानिस भारतवाट फर्कन्छन् । उनीहरुको ब्यवस्थापनका लागि पनि स्थानिय तहलाई समस्या छ । मानिसहरूले एक छाक खाना पनि नपाउने अवस्था देखेपछि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले स्थानीय ‘हनुमान भजन मण्डली’को टिमसँग सल्लाह गरे। उपमहानगरपालिकाको कार्यालयनजिकै हनुमान गढी मन्दिर छ। त्यहाँ भण्डरा टिम थियो। ‘अञ्जली माता’को नाममा उनीहरूले भण्डरा चलाउँथे।
मण्डलीका संरक्षक विजय गुप्तालगायतलाई भेटेर मेयर राणाले समन्वय गरेर अहिले उनीहरुका लागि २० रुपैयामा नै खाना उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ । केही दिन अघि आफ्नो २० वर्षकी नर्स छोरी गुमाएका बुवा श्रीमतीको उपचारका लागि अस्पतालमा बस्दा खान पाइन भन्दै रुँदै मिडियामा आएका थिए । उनी आफै संक्रमित भएका कारण पोषिलो खानेकुरा खानुपर्ने अवस्थामा दुई दिन देखि एउटा चाउचाउको भरमा बस्नुपरेको भन्दै गुनासो गरेका थिए ।
यस्तो मार्मिक भिडियो सार्वजनिक भएपछि स्थानिय तह जागेको हो । मेयरले यस्तो अवस्था देखेपछि विजय गुप्तालाई भने( तपाईंहरू यो विपदका बेला अप्ठेरोमा परेकालाई सहुलियतमा खाना खुवाउनुस्, म उपमहानगरपालिकाको तर्फबाट मासिक सहयोग गर्छु।
मेयरको कुरा भजन मण्डलीलाई गज्जब लाग्यो। उनीहरू ‘विपदमा परेकालाई सेवा गर्नु नै सबैभन्दा ठूलो मानवीय धर्म हो’ भन्ने निष्कर्षमा पुगे। अहिले २० रुपैयामा स्वस्थ्य खाना खान पाएर विरामी कुरुवा, विरामी र अन्य अप्ठेरोमा परेकाहरु खुसी भएका छन् । अस्पतालले आफ्नो हाताभित्रै खाना पकाउने र खुवाउने ठाउँ उपलब्ध गराए पछि अहिले अस्पतालभित्रको उक्त ठाउँमा गएर जो कोहीले २० रुपैयाँमा पेटभरी दाल, भात, तरकारी (साकाहारी) खाना पाउँछन्।
मण्डलीले सबैका लागि खाना दिन्छ । कसैलाई पनि भेदभाव गरिदैन । अधिकांश अस्पतालका विरामी, कुरुवा र अप्ठेरोमा परेका विपन्नहरु खान पुग्ने गरेका छन् । गुप्ताका अनुसार सुरूमा अस्पतालका नर्स, डाक्टर, कर्मचारी र गार्डले मात्रै त्यहाँ खाना खान्थे। अस्पतालभित्रै २० रुपैयाँमा खाना पाइन्छ भन्ने चर्चा केही दिनमै फैलियो। त्यसपछि मजदुरी गर्नेदेखि लकडाउनमा हातमुख जोड्न समस्या भएका नेपालगञ्जभरिका मानिस त्यहाँ खाना खान जान थालेका छन् ।
बिहान १० देखि दिउँसो १ बजेसम्म खाना खान पाइन्छ। अस्पतालमा संक्रमितको उपचारको ब्यवस्था अनुगमन गर्न पुगेकाहरुले पनि सो खाना खाने गरेका छन् । स्थानिय तहका प्रतिनिधि र प्रशासनका ब्यक्तिहरुले पनि खाना खाने गरेको मण्डली संचालकले जनाएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !