काठमाडौं । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ। इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८’ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ। तर उक्त सम्झौता अनुसार रोजगारताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो। वैदेशिक रोजगार विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले थप परिमार्जन गरी कानुन र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो।
नेपाल–इजरायलबीच गत असोज श्रम सम्झौता भई श्रमिक पठाउनेसम्बन्धी माघमा समझदारी बनेको थियो । निर्देशिका जारी भएसँगै नेपाली श्रमिक केयरगिभरका लागि इजरायल जान पाउनेछन्। तर कोभिडले विश्व नै आक्रान्त बनिरहेका बेला इजरायल रोजगारी पनि प्रभावित हुन सक्ने देखिएको छ।
निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका व्यक्ति इजरायल जान पाउने छैनन्। निर्देशिका पारित भएसँगै करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन्।
सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल जान पाउनेछन्। इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेरसमूहको हुनुपर्छ। दस जोड दुई पास गरेर तीन महिनाको केयरगिभर तालिम लिएकाले अवसर पाउनेछन्। दस जोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जानेको हुनुपर्छ। ४.९ फिट र ४५ केजी भएको व्यक्ति मात्रै इजरायल जान पाउने छन्। शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्ने छन्।
योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ। वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थिति गर्न अनुरोध गर्नेछ। विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्नेछ। त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ। भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ।
छनोट समितिले सबै मापदण्ड पूरा गरेका कम्तीमा पनि मागभन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्नेछ। उक्त नामावली इजरायलको पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा राख्नुपर्नेछ। विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ। अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ। विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ।
इजरायलमा न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाइन्छ। इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। सन् २०१५ मा सम्झौता भए पनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टु बिजनेस (बीटुबी) मोडेलबाट कामदार पठाइने भनिए पनि मुस्किलले एक सय जना पनि जान पाएका थिएनन्।
इजरायलले केयरगिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजान लागेको छ। आजको अन्नपूर्ण पोष्टमा तुलसी सुवेदीले यो समाचार लेखेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !