अन्ततः असार १२ गते पुराना मन्त्री फिर्ताभएसँगै नयाँ मन्त्रीले शपथ लिए । मन्त्री पदमा रहँदा प्रायः सधैँ चर्चामा आइरहने झाँक्री लगायतका नेताहरु सरकारबाट फिर्ता भएपछि गुमनाम जस्तै बनेका छन् । पार्टीभित्रै उनीहरुको सक्रियता पनि कम देखिन्छ । झाँक्रीले त आफू पार्टीको सचिव भए पनि कुनै जिम्मेवारी नपाएको गुनासो गरेकी छन् ।
मन्त्रीबाट हटेपछि रामकुमारी झाँक्री गुमनाम भएकी हुन् कि निस्क्रिय ? झाँक्रीसँग मन्त्रीको अनुभव, पद छोड्दा उत्पन्न गलफत्ती, पार्टीको अवस्था र जिम्मेवारीका बारेमा रातोपाटीले चर्चा गरेको छ । पूर्व मन्त्री रामकुमारी झाँक्रीसँग तपाइँ त गुमनाम हुनुभयाे नि भनेर सोधेपछि यस्तो जवाफ दिनुभएकाे छ ।
मेरा शुभचिन्तक र साथीभाइहरुले मलाई त्यस्तो ठान्नुभएको छ कि छैन, खोज्नुभएको छ कि छैन होला, मेरो अनुपस्थितिको ‘फिल’ छ कि छैन होला भन्ने मलाई पनि लागेको हो । तपाईहरुले गुमनाम फिल गर्नुभएछ, खुसी पनि लाग्यो । तर, बितेको एक महिनामा म जिल्ला गएर फर्केँ । पार्टीको कतिपय कामसँग पनि जोडिन पर्यो । यही बीचमा मेरा निजी कामतिर लागँे । आफ्नो काममा सक्रिय नै छुु । संसद चलेका बेला संसदमा पनि उपस्थित भइरहेको छु ।
तर मन्त्रीबाट बिदा भएलगत्तै संसदमा बोल्ने काम पनि त्यति राम्रो मानिन्न, तर पनि नागरिकता विधेयकमा मेरो संशोधन भएकाले बोलेँ । त्यो बाहेक सरकारको ‘पोलिसी’ लगायतका कुरामा ६ महिनासम्म बोल्न राम्रो मानिँदैन । त्यो एउटा नैतिक आचरण पनि हो । म पार्टीको सचिव हो तर मलाई ‘प्रोपर्ली’ जिम्मेवारी तोकिएको छैन । त्यसले पनि तत्काल मेरो उपस्थिति देखिने ठाउँ छैन ।
त्यो बाहेक अरु भेटघाट र निर्वाचनसँग सम्बन्धित तयारीहरु त हुने नै भए । तर एकडेढ महिना मिडियामा पनि नबोलौँ नै जस्तो लागेको थियो । त्यसैले पनि मानिसहरुले कसैले गुमनाम भने होलान्, कतिले रामकुमारी निस्क्रिय भइ भने होलान्, तर त्यस्तो होइन । त्यो त्यहीबेलाको एउटा ‘कन्डिसन’ हो । बिदाई कार्यक्रम नै भनेर पनि हामीले भनेका थिएनौँ । राष्ट्रिय सभामा पहिलो चरणको जवाफ दिएर मैले निमित्त सचिवलाई धन्यवाद दिएर जान्छुमात्रै भनेको थिएँ ।
मैले त्यतिमात्रै भन्दा पनि उहाँहरुले सबै फस्टक्लास अफिसरदेखि मन्त्रालयका अन्य साथीहरुलाई पनि बोलाउनुभएछ । मिडियाहरु पनि मैले भनेकै छैन, त्यतिकै आइदिनुभयो । म न राजीनामा गरेको, न केही ? त्यतिकै अलमल भएँ । यद्यपि मैले प्रधानमन्त्रीलाई भेटेर आएको थिएँ, किनकी बिदा हुने कुरा पहिले नै तय भइसकेको थियो । त्यही बेला मैले ८ महिना २० दिन गरेका कामबारे मेरो देबे्रतिर बसेर सचिवले फेहरिस्त भन्नुभयो, त्यो अवस्थाले जाँदै गरेको मन्त्रीलाई त्यस्तो खुसी बनाउनुपर्ने पनि त थिएन ।
भनिन्छ नि, कर्मचारीहरु स्वार्थी हुन्छन्, यो हुन्छन्, त्यो हुन्छन् ! जाने को हो भन्दा पनि आउने को हो भनेर सोध्छन् भन्ने किंवदन्तीहरु त्यसबेला मेरा अगाडि मिथ्याजस्तै भए । मेरो कार्यकायलमा जुन ‘माइलस्टोन’ बनाउन सक्यौँ, कुन काम कहाँ पुगेको छ भन्ने उहाँहरुले नै भन्नुभयो, मेरो मुखले भन्नै परेन । जसले उहाँहरुले मलाई गरेको विश्वास, ‘टिमवर्क’ले गरेको सन्तुष्टि देखेर म अलिकति भावुक बनेको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !