विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ । वरिष्ठ निर्माण व्यवसायी एवं अमृत निर्माण सेवा प्रालिका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशकको निधन भएको छ । ७८ वर्षीय आईबी (इन्द्रबहादुर) मानन्धरको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बुधबार राति करिब १२ः३० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
विक्रम सम्वत् २००० साल पुस १३ गते काठमाडौंको गोंगबुमा जन्मिएका मानन्धर नेपाल निर्माण व्यवसायी महासंघको आजीवन एसोसिएट सदस्य थिए । मानन्धरलाई महासंघले यही कात्तिक १४ गते ‘एसोसियट भेला सम्मानपत्र २०७८’ बाट पनि सम्मान गरेको थियो । हालको नेपाल निर्माण व्यवसायी महासंघ स्थापना हुनुमा मानन्धरको उल्लेखनीय भूमिका रहेको थियो ।
कामको सिलसिलामा पूर्वी नेपाल गएपछि २०१६ सालदेखि धरानमा बसोबास थालेका मानन्धरले २०३५ सालदेखि निर्माण व्यवसायी बनेर काम सुरु गरेका थिए । उनले २०३६ सालमा सुनसरी निर्माण व्यवसायी संघ स्थापना गरी संस्थापक अध्यक्षको जिम्मेवारी लिएका थिए । बुबा जगत बहादुर मानन्धर कामको सिलसिलमा धरान गएपछि परिवार नै धरानमा व्यवसायमा सक्रिय भएको थियो ।
सुनसरी निर्माण व्यवसायी संघको संस्थापक अध्यक्षको जिम्मेवारी लिएपछि नेपाल निर्माण व्यवसायी संघ हुँदै महासंघ स्थापनामा सक्रिय भूमिका निर्वाह गरेका मानन्धर महासंघको संस्थापक सदस्य हुन् । सोही कारण मानन्धर महासंघको आजीवन एसोसिएट सदस्य बनेका थिए । मानन्धरले नेतृत्व गरेको निर्माण कम्पनीले अहिले पनि देशका विभिन्न भागमा सडक, पुल, भवनको निर्माणकार्य जारी राखेको छ भने केही नयाँ ठेक्का सम्झौताको चरणमै रहेको छ । ७८ वर्षको उमेरसम्म पनि सक्रिय निर्माण व्यवसायीको रुपमा चिनिएपछि महासंघले गत कात्तिकमा सम्मान गरेको हो ।
मानन्धर ७८ वर्षको उमेरमा पनि निर्माण कम्पनीको सक्रिय नेतृत्व गर्दै विभिन्न जिल्लामा कामको निरीक्षण गर्न पुग्ने गर्दथे । विगत सात वर्षदेखि अमृत निर्माण सेवा र जलुकेनी निर्माण सेवा ज्वाइन्ट भेन्चरमा काम गर्दै आएका छन् । स्वर्गीय मानन्धर अमृत÷जलुकेनी जेभीका पनि अध्यक्ष हुन् । अमृत जलुकेनी जेभीलाई आईबी मानन्धरका अतिरिक्त लक्ष्मी नारायण मानन्धर, सुशील फुयाँल र राजेश फुयाँलले सक्रिय नेतृत्व दिएका छन् ।
मानन्धरले ‘घ’ वर्गको अमृत निर्माण सेवा २०३६ सालमा स्थापना गरे पनि उक्त कम्पनीलाई १० वर्षमा अर्थात् २०४६ सालमा ‘क’ वर्गमा स्तरोन्नति गराउन सफल भएका थिए । सबैलाई व्यवसाय गर्न उत्प्रेरित गर्ने आईबी मानन्धरले आफ्ना भाइ लक्ष्मी नारायणको नाममा २०३६ सालमा नै तुलसी-लक्ष्मी निर्माण सेवा दर्ता गराएर काम गर्न लगाएका थिए । उक्त कम्पनी २०४६ सालदेखि ‘ग’ वर्गमा स्तरोन्नति गरी आईबीले उक्त कम्पनीको पनि निर्देशकको रुपमा कार्य गर्दै आएका थिए ।
पछिल्लो समयमा मानन्धर आफ्नो जन्मथलो काठमाडौंमै स्थायी बसोबास गर्दथे । निर्माण क्षेत्रमा लाग्नुअगाडि मानन्धरले ब्रिटिश सरकारअन्तर्गतका परियोजनामा प्राविधिकको रुपमा समेत काम गरेका थिए । स्वर्गीय मानन्धरका श्रीमती, तीन छोरा, तीन बुहारी र छ जना नातिनातिना छन् । स्वर्गीय मानन्धरका माइला छोरा विशाल मानन्धरले काठमाडौंको निर्माण कम्पनीको साथै आसपासका जिल्लाका काममा बुवालाई साथ दिँदै आएका छन् ।
केही दिनअगाडि उच्च ज्वरोको कारण टाइफाइड भएपछि उपचार गर्ने क्रममा गरिएको थप परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वर्गीय मानन्धरको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आईबीका भाइ लक्ष्मी नारायणले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !