काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । संसदको चौथो ठूलो दल रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको हो ।
रास्वपाका धेरैजसो पदाधिकारी तथा सदस्यहरु सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसी जनताको बीचमा जानुपर्ने पक्षमा रहेका थिए । यसअघि रास्वपकाको बैठक सोमबार दुईपटक बसेको थियो ।
सोमबारको बैठकमा आवश्यक निर्णय लिनका लागि ठोस गृहकार्य नपुगेको भन्दै शुक्रबार (आज) फेरि बैठक बसेर निर्णय गर्ने सहमति गरेको थियो । सोमबारको बैठक गर्नुभन्दा अगाडि पार्टी सभापति रवि लामिछानेले नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।
सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँगको भेटमा लामिछानेले आफूहरुले नेतृत्व गरेका पूर्ववत मन्त्रालय पाउनुपर्ने, आफ्नो पार्टीका नेताहरुले नेतृत्व गरेका मन्त्रालयमा हस्तक्षेप गर्न नपाउने तथा सरकारको नीति तथा कार्यक्रम पुनरलेखन गर्नुपर्ने सर्त राखेका थिए ।
भेटघाट र बैठकपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको समाचार पनि बाहिरिएको थियो । यही चर्चाको पृष्ठभूमिमा रहेर आवश्यक निश्कर्ष निकाल्ने गरी आजको बैठक बसी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !