काठमाडौं, १९ भदौ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पद त्यागेको घोषणा गर्दै उनले ४ मंसिरमा हुने निर्वाचनमार्फत राप्रपालाई संसदमा हुने गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा उपस्थित गराउने बताएका हुन् । सांसद पद त्यागेको घोषणासँगै अरु सांसदहरुले पुनः जितेर आउन शुभकामना दिँदै उनले भने, ‘सबै माननीय सदस्यहरुलाई सांसदको विजयका लागि, उपस्थितिका लागि शुभकामना व्यक्त गर्दछु ।
म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका निर्णय (संसदमा हुने गलत निर्णय) हुन नदिने भूमिका निर्वाह गर्ने संकल्प र अठोटका साथ जनताको बीचमा जाँदै छु ।’ आफू र आफ्नो दलको स्वार्थका लागि गर्ने निर्णयहरु आगामी संसदमा हुन नहुने भन्दै उनले यसप्रति सबै राजनीतिक दलहरुलाई संकल्प गर्न आग्रह गरे ।
अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवासुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयलाई उनले आग्रह पनि गरे । ४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयू लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका हुन् ।
‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ,’ बैठकमा उनले भने, ‘तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसलाई मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ ।
यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !