बुटवल : रुपन्देहीमा प्राइभ टाइम्स टेलिभिजनको ऋषि धमलाले सञ्चालन गरेकाे निर्वाचन लक्षित कार्यक्रम ‘मंसिर ४ महासंग्राम’मा झडप भएको छ।
जिल्लाको सम्मरीमाई–५ रोइनिहवामा भएको बहस कार्यक्रममा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो। कार्यक्रम चलिरहँदा दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्ला घाइते भएका छन्। इट्टा प्रहारपछि उनको ओठमा ठूलो चोट लागेको छ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभाका ४ प्रमुख प्रतिस्पर्धीसँग स्थानीय र समर्थकलाई राखेर भएको बहस कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा हो–हल्ला भएपछि कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो। सोही क्रममा शुक्ला घाइते भएका हुन् भने अन्य केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले जानकारी दिए।
घाइते शुक्लाको ओठमा १७ वटा टाका लगाइएको छ। उनको उपचार भैरहवास्थित भीम अस्पतालमा भइरहेको त्रिपाठीले बताए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले सामान्य कुर्सी हानहान भएको रिर्पोट आए पनि घाइतेको सम्बन्धमा राति ८ बजेसम्म केही रिर्पोट नआएको बताए।
भिडियो हेर्नुहोस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !