पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा संचालनमा रहेका अस्थायी टहराहरू हटाउने भएको छ ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रूपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए । उनले शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै फूल, प्रसादीलगायतको व्यवस्थापनकालागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको स्पष्ट पारे ।
प्रवक्ता अधिकारीले भने, ‘यसलाई हटाउने भन्ने विषयहरू मिडियामा आइराखेको छ । यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दापनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्ने मलाई पहिलो कुरा लाग्दछ । पशुपति क्षेत्रको आफनै ऐन, कानुन छ । त्यसअनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तरगत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरूका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरूको लागि केही पसलहरूको व्यवस्थापन गरेका छौं ।
त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने हाम्रो नीति होईन । छैन र हुनु पनि हुँदैन । केही अरू नि पसलहरू राखिएको थियो । व्यवस्थित ठाउँ बनाएरपछि ती टहराहरूलाई हटाउन लागिएको हो ।’
कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरूका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरूको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !