प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझेका छन् । उनले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेका थिए ।
गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार केहीदिन अघि घरभित्र ल डेर उनलाई सामान्य चो टप टक लागेको थियो । भेटका क्रममा ओलीले गौतमलाई शनिबार बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्। जवाफमा गौतमले हाँसेर कुनै जवाफ नदिएको ओली समूहका एक नेताले जानकारी दिए।
प्रधानमन्त्री ओली र गौतमबीच व्यक्तिगत कुराकानीबाहेक अरू नभएको उनी निकट स्रोतको दाबी छ। नेकपा विभाजनमा गौतम कुनै समूहमा पनि लागेका छैनन्। प्रधानमन्त्री ओलीले आफ्ना समूहका सांसदको बैठक शनिबार बालुवाटारमा बोलाएका छन्। गौतम राष्ट्रिय सभाका सांसद हुन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधि सभाकी सांसद हुन्।
संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको ता’नाता’न तीव्र भएको छ । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा ओली समूह र दाहाल–नेपाल समूहबीच सदस्य संख्याका हिसाबले कडा टक्कर छ । दुवै समूहबीच सांसद संख्याको फरक साँघुरिदै जाँदा वामदेव गौतम निर्णायक हुने स्थिति देखिएको छ ।
गौतमले भने आफू एकताको पक्षधर भएको भन्दै कतै पनि नलागेको बताएका छन् । प्रतिनिधिसभामा नेकपाका १ सय ७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन् । त्यसैले, अहिले १ सय ७२ सांसद कायम छन् । त्यसमध्ये दाहाल–नेपाल पक्षले आफूसँग ९० भन्दा बढी सांसद भएको दाबी गरेको छ भने ओली समूहले ८८ सांसद आफूसँग रहेको दाबी गरेको छ ।
नेकपा विभाजन गर्नुहुँदैन भनेर लागेका सांसद लालबाबु पण्डित अन्तिम समयमा आफूतिर आउन सक्ने दाहाल–नेपाल पक्षको आशा छ । उनले भने आफू ओली, दाहाल र नेपाल एक ठाउँमा उभिए भने मात्र त्यस्तो बैठकमा सहभागी हुने नत्र कतैतिर नलाग्ने बताए ।
नेकपा संसदीय दलको विधानमा राष्ट्रिय सभाका सांसदहरूले समेत संसदीय दलको नेता चयनमा मतदान गर्न पाउँछन् । उपाध्यक्ष वामदेव ओली समूहमा लागे भने राष्ट्रिय सभामा ओलीकै बहुमत पुग्छ । राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् ।
राष्ट्रिय सभा अध्यक्षले मतदान गर्न नपाउने भएकाले ४९ जना कायम हुन्छ । ४९ जनामध्ये दाहाल–नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ जना नै छन् । यस्तो अवस्थामा गौतम जता लाग्छन्, राष्ट्रिय सभामा उसकै बहुमत पुग्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !