काठमाण्डाैं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा ४४ हजार ८५३ जनाले आवेदन दिएका छन् । दक्षिण कोरियाले ईपीएस अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।
ईपीएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काले आवेदन दिने अन्तिम म्याद सोमबारसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिए । विगत वर्षको तुलनामा कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको देखिन्छ ।
सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट परीक्षा सञ्चालन गर्न आवेदन माग गरिएको थियो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा वैशाख २६ बाट असोज २१ गतेसम्म चरणबद्ध रुपमा हुने छ । विगत वर्षहरुमा माग गरिएको संख्या भन्दा १० गुणा बढी आवेदन पर्ने गरेको थियो । हाल कोरिया जाने योग्यसूची (रोष्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !