काठमाडौं ।
काठमाडौं उपत्यकाका केही स्थानमा अहिले वर्षा भइरहेको छ । बिहान करिब ६ बजेपछि वर्षा हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशका अरू स्थानमा वर्षा भइरहेको थियो ।
अहिले काठमाडौंमा भइरहेको वर्षा अझै एक दुई घण्टा जारी रहने महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए । त्यसपछि केही समय पानी पर्न रोकिए पनि मौसम पूर्ण रूपमा सफा नहुने उनले बताए ।
उनका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो पुनः वर्षा हुनेछ । “मे महिना टिपिकल प्रिमनसुनको महिना हो,” उनले बाह्रखरीसित भने, “यो समयमा एकैछिन पानी पर्ने, बस्ने, फेरि पर्ने हुन्छ ।”
भोलि पनि वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुने उनले जानकारी दिए । आज देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !