काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)को यही असोज ३० गतेदेखि हुने अन्तर्राष्ट्रिय अधिवेशन तथा निर्वाचनमा हालसम्म पाँच जनाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
कात्तिक २ गते हुने निर्वाचनमा विनय अधिकारी, आरके शर्मा, रविना थापा, डा. बद्री केसी र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये केसी र थापा वर्तमान कार्यसमिति सदस्यसमेत हुन् । उम्मेदवारी घोषणा गर्दै अधिकारीले एनआरएनएलाई युवा नेतृत्वको हातमा लैजान अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।
भविष्यमा आइपर्ने विपत व्यवस्थापन, आर्थिक सहायतालगायत अनेक मुद्दामा हातेमालो गर्न सधैं तयार रहेको जानकारी जनाउँदै अधिकारीले आगामी अधिवेशनबाट सही नेतृत्व चुन्न मतदाता र शुभेच्छुकलाई आह्वान गरे । यस्तै अध्यक्षका अर्का उम्मेद्वार आरके शर्माले गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान भन्ने मुल नारा समेटेर आगामी कार्यकालमा २४ कार्ययोजना समेटेर बाचापत्र सार्वजनिक गरेका छन् ।
संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीको सल्लाह र सुझावका आधारमा आफ्ना योजना तथा कार्यक्रम ल्याएको बताए । यस्तै अध्यक्षका अर्का प्रत्यासी रविना थापाले एनआरएनए ग्लोबल फण्डको महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरिन् । एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष संघको सबैभन्दा ठूलो कोष हुने बताउँदै उनी निर्वाचनमा दोस्रो पटक होमिएकी हुन् ।
थापाले आफू नेतृत्वमा पुगेलगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गर्ने बताइन् । यस्तै अर्का उम्मेदवार श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकको हकहितका लागि १० करोड रुपैयाँ बराबरको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा प्रतिष्पर्दा गर्ने भएका छन् । यस्तै डा. बद्री केसीले आगामी कार्यकालका लागि उमेद्वारी सार्वजनिक गर्दै अध्यक्ष पदमा विजयी भएपछि गर्ने कार्य र योजनासँगै विभिन्न प्रतिबद्धता जनाएका छन् ।
उनले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा जोड दिएका छन् । एनआरएनएको ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौंमा आयोजना हुने एनआरएनए सचिवालयले जनाएको छ । संघमा विश्वभरबाट ९६ हजार ८५० पञ्जिकृत सदस्य संघमा आबद्ध भएका छन् । सचिवालयले एनआरएनएको महाधिवेशनको अन्तिम मतदाता नामावलीसमेत प्रकाशन गरेको छ ।
निर्वाचन समितिले बुधबार प्रकाशन गरेको नामावली अनुसार महाधिवेशनमा ४ हजार २२७ जना मतदाता रहने छन् । प्रकाशित नामावलीअनुसार अफ्रिका क्षेत्रमा रहेका १० देशबाट ११९ जना मतदाता रहने छन् । यस्तै अमेरिका क्षेत्रका ३ देशबाट ४३५ जना मतदाता रहने उल्लेख छ । एसिया प्यासिफिक क्षेत्रका ८ देशबाट ७२३ र युरोपका २४ देशबाट एक हजार ६८६ मतदाता छानिएका छन् । मध्यपूर्वका ८ देशबाट ९३९ तथा ओसियाना क्षेत्रका तीन देशबाट ३०४ जना मतदाताको नाम प्रकाशित गरिएको छ ।
भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ । भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ । मनोनयन दर्तापछि असोज २९ गते उम्मेद्वारको पहिलो नामावली प्रकाशित गरिनेछ । सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोधको समय दिइएको छ भने त्यसपछि असोज ३० मा मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुने जनाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !