बिहानै भालेको डाँकोमा जुरूक्क उठेर आँखा मिच्दै डोको नाम्लो भिरेर मन नलागे पनि पानी लिन जानै पर्थ्यो । जसोतसो डोको नाम्लो खोज्यो, नाम्लोको डोरी फिता मिलायो अनि पुरानो तामाको रित्तो गाग्रो बोकेर पानी भर्न निस्कन त्यतिबेला बाध्याता नै थियो । त्यसो त कतिपटक पानी लिन जान मन नलाग्दा पेट, टाउको दुखेके बहाना पारित पनि हुन्थ्यो । तर सधै त कहाँ दुख्थ्यो र पेट? कति चड्किन्थ्यो र टाउको?
एकदिनको कुरा हो, झिसमिसे अँध्यारोमै उठेर पानी भर्न के निस्केको थिए, लाहुर हिडेका गाउँका दाइहरूले सातो खाए । हैट माइला कस्तो बेलामा निस्किस्? हामी चै लाहुर हिडेको यस्तो शुभ समयमा रित्तो गाग्रो देखाएर आउने? भन्दै २ जना गाउँकै दाईहरूले झपारे । म पनि के कम, अब तिमीहरू यतिबेलै टुप्लुक्क टप्किने पर्छ त? ह्या केहि हुदैन, तामाको गाग्री हो साइत पर्छ, नडरार जाओ ।
यति भनेपछि ल ल बाटो चैँ नकाट, भनेर उभ्याउँथे तिनीहरू जान्थे । अनि गाली नगरून भनेर बिस्तारै लाहुरबाट आउँदा राम्रो फकुण्डो ल्याइद्याओ है भनेर बिन्ति चढाउनु पर्थ्यो । उनिहरू गएपछि मात्रै बाटो लागिन्थ्यो । मनमनै भकुण्डो ल्याइदिएपछि मज्जाले खेल्न पाइन्छ, रमाइलो हुन्छ, गाउँका केटाहरूलाई देखाउने मौका मिल्ने भो भनेर खुशीले भुइँमा खुट्टा नै नराखेर दगुरिन्थ्यो ।
भकुण्डो, सम्झनुस् भकुण्डो भन्ने वित्तिकै स्कुलमा त्यतिबेला हङकङ लाउरे या भनौं ब्रिटिशे लाउरेहरूले मात्रै मिकाशा लेखेको भकुण्डो ल्याइदिन्थे, त्यो पनि २, ४ बर्षमा । त्यो बल खेल्ने स्कुलका माथिल्लो कक्षाका दाइहरूले फाल्दा उफ्रिएर आफुतिर आउँदा छुन पाए भाग्य! यसो समातेर फाल्न पाइयो कि यति रमाइलो लाग्थ्यो सायद त्यो दिन खानै खाइदैन थियो । या २, ४ जना भेला भएको ठाउँमा गएर बखानै लगाउन मन लागिहाल्थ्यो । हेर त आज मैले त ब्रिटिशे लाउरे दाइले ल्याइदिएके बल छोएँ नि!
उतिबेलाको कुरा हो, दाइहरूले खेलेको बल छुन पाउँदाको खुशी साट्ने क्रममा कतिपटक लड्नु समेत परेको छ । बल खेलेको ठाउँबाट उछिट्टिएर आउँदा समात्न समेत महाभारतको लडाई नै गर्नुपर्थ्यो । यसरी लड्ने क्रममा कतिपटक त चोट नै पनि लागेको छ ।
लाउरे भकुन्डो बाहेक स्कुलले ल्याउने भुकुण्डो पनि त्यस्तै नभए पनि कम चै हुदैनथ्यो । च्यातिएर पुरानो भएसम्म टालटुल सिलाएरै बर्षदिन चलाइन्थ्यो ।
गाउँले जिन्दगी, गाउँले परिवेश, शहरदेखि टाढा हुनुकै पीडा भनेको यो पनि रहेछ, चाहेको पढ्न नपाइने, खेल्न नपाइने । तर साँच्चै त्यतिबेला खासै अपशोच भने हुदैनथ्यो । भलिवल नभएर के भो त? गाउँमा लाउरेहरूले फालेका घुँडाघुँडासम्म आउने मोजामा कागज भरेर डल्लो बनाउने, सिउने अनि त्यसैलाई भकुण्डो बनाएर लामै बसन्त पार गरियो । अझ यसो भनौ स्कुले जीवन नै मोजावाल भकुण्डोमै लगभग बित्यो ।
अझै यतिबेला सम्झनामा आउने त त्यहि मोजावाल भकुण्डो नै हाम्रो लागि सुविधायुक्त लात्ते भकुण्डो पनि थियो । लात्ते भकुण्डो चैं स्कुलमा देख्दै देखिएन भन्दा पनि हुन्छ । तर पनि हामीले मोजाकै लात्ते भकुण्डो बनाएर पास दिन, छक्काएर अगाडि बढाउन, अनि चप्पल दुईतिर राखेर पोष्टको काम चलाइन्थ्यो, त्यहि भित्र गोल हान्न सिक्यौ । सम्झनामा त्यहि पनि कति रोमाञ्चक खेल हुन्थ्यो कि गाउँतिरका बुढापाकाहरू हल्लै गरेर हेरिदिन्थे । आह त्यतिबेला फुटबलर नै हुम् कि क्या हो भन्ने नलाग्ने पनि कहाँ हो र?
साँच्चै नढाँटी भन्ने हो भने स्कूल बाहेक घरमा गएर पढ्ने कमै हुन्थ्यो । बिहानै घरधन्दा, घाँसदाउरा, मेलापात गरेर हतारमा आँटोसाटो, रोटी वा जे छ खाएर स्कूल दौडियो । स्कूलमा जति पढियो पढियो । फेरि बेलुकि ४ बजेपछि छुट्टिको लामो घण्टी बज्नासाथ यता उता साथीहरू हेर्यो पाए सँगै नपाए एक्लै घरतिर टाप कस्यो । यति त यति घरमा काम परेको दिन त स्कूल नै जान नपाइने कतिपय अवस्था पनि सिर्जना हुन्थे ।
गाउँतिरको पढाईको महत्व भनेको शिक्षकले पढाउँदा सम्म मात्रै हो । अर्को कुटाई खान नपरोस भनेर पनि पढ्नै पर्ने बाध्यता थियो भन्दा फरक नपर्ला । नत्र पढेर यो बन्छु, त्यो बन्छु, डाक्टर, इन्जिनियर भन्ने त नामोनिशान नै थिएन । कसैकसैले चाहि शिक्षक हुन्छु सम्म भनेकि? नत्र गाउँमा एउटा माहोल थियो पढे पनि ८ कक्षा सम्म त हो ।
आठ पासको पनि एउटा भयङ्करै महत्व थियो गाउँमा । किनकी भारतीय लाउरे हुन ८ कक्षा पासको सर्टिफिकेट चाहिन्थ्यो । नत्र खल्लीबल्ली हो गाउँको पढाई । पढ्ने के नपढ्ने के, सबैको स्कुले जिवन विना उदेश्यको फगत थियो भन्दा अतिसयोक्ति नहोला ।
८ कक्षा पास हुनै नसकेपछि चिन्ता हुदैनथ्यो । गोरखपुरमा नेपाली स्कुलका पैसावाला सर्टिफिकेट रेडिमेट थियो । साँच्चै कति जनाले त्यहि गएर भर्ती हुन अगाडि ८ कक्षा पास गरेका छन् । त्यतिबेला नागरिकता नखोजिनुले पनि गोरखपुरे ८ कक्षा पासको सर्टिफिकेट मज्जाले चल्थ्यो ।
तिनै गोरखपुरै ८ कक्षा पास सर्टिफिकेटधारी लाउरेहरू गाउँमा आउँदा भरिया बोकाएर लामो २ वटा क्यासेट जाने क्यासेट प्लेयरमा राम्दी पुल पारी जस्ता परदेशी जिवनको पीडा बोकेका गीतहरू घन्काएर आडको उकालो काटेर आउँथे । आडको काटेपछि गाउँलेले सुन्छन् भनेर पनि कति लाउरेहरूले ८ ब्याट्रीवाला टेपरिकर्डर बजाएर घन्काउन शुरू गरेका थिए होलान् ।
याद छ अझै पनि, डाँडाबाट लाउरेले अगाडि भरिया लगाएर आफु चै लामो टेप बजाउँदै आउँदा साना हामीहरू सुन्दै सुन्दै कति टाढासम्म पुगिन्थ्यो । उसो त यतै कतै नजिकैका रहेछन् भने त घरसम्मै पुर्याएर बेलुकि मात्रै फर्किइन्थ्यो । अनि अबेर फर्केकैमा यति गाली खानुपर्थो कि “जा उतै लाउरेकोमा भात खाएर आइजा” । उता लाउरेले यतिसम्मकि केटाकेटी आए भनेर लाउरबाट ल्याएको चकलेटसम्म दिदैनथे । यता उतै भात खाएर आइजा भनेपछि कस्तो अवस्था आउँथ्यो बुझ्नै सकिदैनथ्यो ।
हुन त बाल्यकाल यस्ता कुराहरूले खासै पीर पार्दैनथ्यो । यसै पनि बालापनलाई अबोध भनिएको होइन रहेछ । उता डाँडाबाट पछ्याएर गीत सुन्दै लाउरेलाई अर्को डाँडा कटाउनु या नजिकैको रहेछ भने घरसम्म पुर्याउनु, यता घर फर्केपछि गाली खानु, यो त नियति नै जस्तो भैसकेको हुन्थ्यो । प्रायः गाउघरमा यस्ता कुराले असर गर्ने कमै हुँदा हुन्, या छदैं थिएनन् भन्दा हुन्छ ।
अब शुरू हुन्छ लाउरेको गाउँघर भिजिट, त्यो पनि त्यहि टेप बजाएरै । गाउँमा एकादुई रक्सी पसलहरू थिए । उसो त रक्सीपसलमा लाउरे मात्रै होइन, गाउँलेहरूले पनि बेलुकि दबाएरै खान्थे । यत्ति हो आज उनिहरूलाई ऋण लाग्ने छैन । टेप बजाउँदै आएका लाउरेकापछि एकादुई तिनै तोरी लाउरेहरू पछि लागेर आउँथे । लाउरेले रक्सी भर्न लगाउँथे, गफको चट्नीसँग लाउरेले किनिदिएको फ्रिको रक्सी पिउँथे हाम्रा तोरी लाउरेहरू । अनि अच्छा, लेकिन, क्या बातमै रूमल्लिएर गफका तालमा कति सक्थे । अझ त अझ पैसा नपुगेर पछि तिर्छु भनेर बाटो तताउनेहरू पनि हुन्थे ।
त्यतिबेलाका लाउरेहरूले खासै प्रगति गरे जस्तो लाग्दैनथ्यो । बर्षमा एक महिना छुट्टि आउने चिनिएकै लाउरेहरूले त एक महिनामै ११ महिनाकै तलब नै सक्थे । यतिबेला केहि नामहरू लिन मन थियो तर ब्यक्तिगत प्रतिष्ठाका कारण लिन मिल्दैन । यसो भनेर सबै लाउरेहरू नै यस्तै थिए भनिएको होइन । धेरै लाउरेहरूले आफ्नो, परिवारकै भविष्य उज्जल बनाएर राम्रै प्रतिष्ठा पनि कमाएका छन् ।
यतिबेला गाउँमा युवाहरूको खडेरी झण्डै परेको छ । शहरिया रमझमले चुर्लुम्म डुबेको छ । त्यतिबेलाका युवायुवतीहरू शहरतिर पलायन भएका छन् । अझ यसो भनुँ कति त जिन्दगी लतार्नै पर्ने बाध्यतासँग खाडी मुलुक लगायत मलेसिया यूरोप वा अन्य मुलुकहरूमा बास बस्न गैसकेका छन् । कति युवाहरू तेश्रो देशमा बास बस्ने सर्टिफिकेट समेत लिएर उतै हराइरहेका छन् ।
यतिबेला जति जना गाउँमा छन्, उनिहरूले गाउँले जिवनमा अवस्य सकेको टेवा पुर्याइरहेका छन् । मान्नुपर्छ तिनै उकालीओराली गर्दै घाँसदाउरामा जिन्दगीलाई निरन्तरता दिने युवाहरूको जिन्दगीमा पनि कम दुःख छैन । फेरि पनि अचेल यातायातको विस्तारले केहि सहज पक्कै भएको छ । फेरि पनि एकपटक सलाम छ ती अतितका युवाहरू, जो अहिलेका पूर्ण जिम्मेवार अभिभावक बनेका छन् र तिनै अभिभावकत्वमा गाउले जीवन सहज बनाउँदैछन् । गाउँका पाखा पखेरी बाँझै छन् र पनि रेमिटेन्सले पालिएको छ मेरो गाउँ । गाउँ मात्रै होइन देशै रेमिटेन्सले चलेको छ ।
विस्तारै बिकासले समेट्दै गरेको गाउँले जीवन, गाउँ छाडेर जाने कतिका लागि पुनः गाउँ फर्कने वातावरण बन्दै छ । गुँड छाडेर चारोको खोजिमा नौ डाँडा काटेर गएकि चरी बेलुकि बास बस्न गुँडमै फर्कन्छ भने झै, हाम्रो पनि गुँड छ, फर्किन सके नराम्रो हुदैन कि?
हरि मानन्धर “विवश”
हरिनास ०६, क्याक्मी, स्याङ्ग्जा ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !