भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भन्नुभयो, “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ ।”
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आइभीआरमार्फत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकमको १६००, एनसेलको, १६००, अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ ।
विद्यार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि एसईईको नतिजा थाहा पाउने व्यवस्था गरेको छ । नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !