काठमाडौं । बाणिज्य बैंकहरु गत साल असाध्यै राम्रो मार्जिनमा कारोबार गरेका थिए । वर्षभरी नै सीडी रेसियो उच्चतम सीमामा थियो । धेरै पटक त्यस्तो सीमा तोडिएको थियो । यसको अर्थ, बैंकहरुले सम्भव हुनेसम्म सबै स्रोतको लगानी गरेका थिए ।
अघिल्ला केही वर्षको तुलनामा ब्याजदर अन्तर पनि आकर्षक थियो । ७–८ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकहरुले ऋणीको ‘ढाड सेकेका’ थिए । ब्याजदर त्यसैगरी बढाइएको थियो । अझ मर्जरमा जाने संस्थाहरुले १ प्रतिशत अतिरिक्त स्प्रेडको सुविधा पाउने भएपछि गत साल बैंकहरुको केन्द्रिकरणमा पनि ठूलै योगदान पुगेको थियो ।
ठूला बैंकहरुबीच बढेको मर्जरले एकै वर्षमा ६ वटा बाणिज्य बैंकको अस्तित्व नामेट भयो । एनसीसी, मेगा, सनराइज, सिभिल, सेञ्चुरी र बैंक अफ काठमाण्डूको अस्तित्व नै सकियो । कुनै बेला ३२ वटा पुगेको बाणिज्य बैंकहरुको संख्या अहिले २० मा झरिसकेको छ । यसले कयौं प्रमुख कार्यकारी अधिकृतदेखि उच्च पदस्थ कर्मचारीहरु बेरोजगार हुन पुगे । वर्षमा करोडका हिसाबले तलव खाने कर्मचारी हटाइए । मर्जरपछि दोहोरो शाखालाई खारेज गरियो । यसरी एकातिर खर्च कटौति, अर्कातिर आम्दानीमा उच्च बृद्धि भएको थियो ।
तै पनि धेरै बैंकहरु यस पल्ट लाभांश बाँड्न सक्ने हालतमा देखिएका छैनन् । बैकहरुको अपरिस्कृत वित्तीय विवरण हेर्दा उनीहरुको समष्टिगत नाफामा पोहोरभन्दा बढोत्तरी नै भएको छ । सबै बाणिज्य बैंकले अघिल्लो साल ६७ अर्ब ७३ करोड नाफा आर्जन गरेकोमा गत आर्थिक वर्षमा ७० अर्ब १७ करोडभन्दा धेरै नाफा कमाएका छन् । झण्डै साढे २ अर्बको नाफा बृद्धिका बाबजुत बैंकहरुको लाभांश क्षमता निराशाजनक देखिएको छ ।
बैंकहरु आफैंले ऋणीलाई अधिक प्रिमियमको भारी बोकाउन थाल्नु र बजार अर्थतन्त्र ध्वस्त हुनुले यस्तो परिस्थिति देखिएको हो । अहिले दुई ठूला बैंकहरु सञ्चित नोक्सानीमा पुगेका छन् भने अरु ३ बैंकले लाभांश दिने अवस्था छैन । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई छाड्ने हो भने बाँकी १४ बैंकले मात्रै थोरबहुत लाभांश दिने अवस्था बनेको छ । राष्ट्रिय बाणिज्यले साढे ११ प्रतिशत लाभांश क्षमता राख्ने भए पनि यसको लाभ सरकारले मात्रै पाउने छ । सबै बाणिज्य बैंकले कमाएको कुल नाफामध्ये २१ प्रतिशतभन्दा धेरै त नबिल र ग्लोबल आईएमईले कमाएका छन् । नबिलले ७ अर्ब ५३ करोड र ग्लोबलले ७ अर्ब २५ करोड कमाएका छन् ।
एनसीसीलाई गाभेको कुमारी बैंक करीब ८५ करोड सञ्चित नोक्सानीमा देखिएको छ भने सिभिल बैंकलाई मिसाएको हिमालयन बैंक ७१ करोड हाराहारी सञ्चित नोक्सानीमा देखिएको छ । नेपाल इन्भेष्टमेण्टसँगको ‘बीग मर्जर’ तोडेर सिभिललाई मिसाउन लागेको हिमालयनले यस्तो दुर्गति यसअघि भोग्नु परेको थिएन । कुमारी त आफैं पनि विगतदेखि धेरै राम्रो वासलात भएको बैंक होइन । नेपाल इन्भेष्टमेण्ट मेगा र प्रभू बैंकको वितरायोग्य नाफा १६–१६ करोड रुपैयाँ मात्रै छ । प्राइम कमर्शीयल बैंकको वितरणयोग्य नाफा पनि २० करोडमात्रै छ ।
सबै बैंकहरुको औसत लाभांश क्षमता ११.८ प्रतिशत देखिएको छ । यो भनेको विगतमा बाणिज्य बैंकहरुले नै दिएको मुद्दति निक्षेपको ब्याजदर भन्दा कम हो । सबै बैंकले पूर्ण क्षमतामा लाभांश बाँड्छन् भन्ने पनि आधार छैन । यसले बैंकको सेयर किन्नुभन्दा तिनै बैंकमा निक्षेप राख्दा बढी लाभ हुने अवस्था देखिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !