म्याग्दी । म्याग्दीको भिरखर्क सामुदायिक वनमा लागेको डढेलोमा परेर मंगलबार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
डढेलोमा परेर स्थानीय २६ वर्षीय मबहादुर बोहोराको मृत्यु भएको म्याग्दी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र गुरूङले जानकारी दिए। उनका अनुसार डढेलोबाट घाइते भएका २१ वर्षीय मनबहादुर बोहोराको उपचार गर्न हेलिकप्टरमार्फत् पोखरा ल्याइएको छ।
मालिका गाउँपालिका-५ स्थित भिरखर्क सामुदायिक वनमा आइतबार साँझदेखि डढेलो लागेको थियो। वडा सदस्य समेत रहेका स्थानीय मिम पुनका अनुसार वन क्षेत्रमै रहेको खरबारीबाट जंगलमा डढेलो सल्किएको थियो।
‘आइतबार डढेलो निभ्यो भनेका थियौं, तर आगो बाँकी नै रहेछ,’ उनले भने, ‘हिजोदेखि त पूरै जंगल आगोले छोप्यो।’पुनका अनुसार उनीहरू दुबै जना एकै घरका दाजुभाइ हुन्। अर्को गाउँ जाने क्रममा उनीहरू डढेलोमा फसेको पुनले बताए। डढेलो निभाउन खोज्दा आफैं आगोमा परेको उनको भनाइ छ।
सामुदायिक बनमा फैलिएको आगो अझै नियन्त्रणमा ल्याउन नसकेको इन्स्पेक्टर गुरूङले बताए। उनका अनुसार आगो भिरतर्फ गएको र अहिले गाउँ खतरामुक्त छ। स्थानीय रुन्मा गाउँका बासिन्दाले उक्त सामुदायिक वन प्रयोग गर्थे। डढेलो लाग्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !