जन्म दिने बुवाआमालाई छोराछोरीले अलपत्र पारेको कुरा त देखिँदै/सुनिँदै आएको हो, तर बुवाआमासँग भएको सम्पत्ति समेत लुटेर बिचल्ली बनाएको घटना भने बिरलै सुन्न पाइन्छ । यस्तै एउटा घटना अहिले चर्चामा छ । कीर्ते गरी बुवाआमाको सम्पत्ति हडपेको र बिचल्ली बनाएको आरोपमा राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छन् । ललितपुरको सानेपामा बस्दै आएकी ८४ वर्षीया वृद्धा शोभा रिजाललाई आफ्नै छोरीले अलपत्र पार्लिन् भन्ने कहिल्यै लागेको थिएन।
माइली छोरी सुष्माले पाल्छु भनेर अचल सम्पत्ति मरणोपरान्त आफ्नो नाममा हुने गरी कागज समेत गराएकी थिइन् । छोरीको सहारामा बुढेसकाल बिताउने उनको अपेक्षा थियो।सुगरको बिरामी रहेका शोभाका श्रीमान् कमल रिजाल बेला–बेलामा बेहोश हुन्थे । बुवा बेहोश भएको मौका छोपेर सुष्माले माछापुच्छ्रे बैंक, सिर्जना फाइनान्स र अरनिको सहकारीमा रहेको ४ करोड ४४ लाख रुपैयाँ नगद, २२ तोला सुन र चाँदीका भाँडाकुँडा समेत आफ्नो हात पारिन् ।
‘म बिरामी र बुवा बेहोश भएको समयमा उनीहरूले खै कसरी कीर्ते गरेर सबै ४ करोड ४४ लाख पैसा, २२ तोला सुन र चाँदीका सामानहरू लगेछन्,’ शोभाले भनिन्, ‘त्यो समयमा बुवालाई के गरेर नगद र गरगहना सबै आफ्नो नाममा पारिछ ।’ कृषि सामग्री संस्थानको सह–सचिवबाट अवकाशप्राप्त बुवा कमलको २०७६ मंसिर १ गते मृत्यु भएपछि सुष्माले विराटनगरमा रहेको पुर्ख्यौली सम्पत्ति समेत आफ्नो नाममा नामसारी गरिसकेकी छन् ।
सम्पत्ति अंशबण्डा गर्ने समयमा बुवा–आमा र अपाङ्गता भएकी जेठी दिदीलाई हेरचाह गर्ने भनेर बुवा–आमाको मृत्युपछि मात्र उनको नाममा हुने भनिएको थियो । तर उनले बुवाको मृत्यु हुनुभन्दा अगाडि नै कीर्ते गरेर पैसा तथा सम्पत्ति आफ्नो नाममा सारिसकेकी रहिछन् ।पाठेघरको समस्या रहेकी शोभाले उपचारका लागि पैसा चाहियो भन्दा सुष्माले दिन मानिनन् ।
‘उपचार गर्नुपर्यो, पैसा ले भन्दा पनि नदिएपछि प्रहरीको गएकी थिएँ,’ शोभाले भनिन्, ‘नागरिकता माग्दा पनि दिइन । वृद्धभत्ता पनि उसैले लान्थी ।’ केही समयअगाडि बिरामी भएपछि साइँली छोरी गंगा रिजाल र छोरा सुरेन्द्र रिजाललाई भनेर अस्पताल भर्ना भएकी थिइन् । त्यो समयमा पनि पैसा माग्दा नदिएको शोभाले बताइन् ।
‘अरूले कसरी उपचार गरुन्, पाल्ने भनेर उस(सुष्मा)ले सबै सम्पत्ति लगेकी थिई,’ शोभाले भनिन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार विगत ९ महिनादेखि उजुरी आएपनि सरकारी कर्मचारी भएकाले घरको समस्या घरमै मिलाउन प्रहरीले आग्रह गर्दै आएको थियो ।
‘घरको समस्या हो, तपाईंहरू मिलाउनुस् भनेका थियौं,’ एसएसपी सिंहले भने, ‘उहाँ (सुष्मा)लाई पनि सम्पत्ति खाएपछि बुवाआमा हेर्ने दायित्व हो, सेवा गर्नुस् भनेका थियौं ।’ तर सुष्माले उल्टै जिल्ला अदालत काठमाडौंमा उक्त उजुरीविरुद्ध ‘स्टे अर्डर’ मागेर मुद्दा दर्ता गरिन् ।
जिल्ला अदालतले सुष्माको माग दाबी खारेज गरेर पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरेको एसएसपी सिंहले बताए ।प्रहरीले सुष्मालाई आइतवार थापाथलीबाट पक्राउ गरेको थियो ।प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनलाई ज्येष्ठ नागरिक ऐन– २०६३ विरुद्धको कसूर गरेको अभियोगमा पक्राउ गरिएको एसएसपी सिंहले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !