काठमाडौ । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ। शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए। मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन्।
मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए। पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो। शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ। शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ।
यद्यपि, भीमसेनको शिलामा पसिना आउनु मुख्यतः परिवर्तनको सूचकको रुपमा पनि लिने गरिएको छ । त्यसर्थ यो घटनालाई नकारात्मक कोणबाट मात्रै नभई सकारात्मक कोणबाट पनि हेर्ने गरिन्छ ।
भीमसेनलाई पसिना आउँदा के हुँदै आएको छ ?
भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँ सी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको बताइन्छ ।
त्यसैगरी, २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमतसंग्रह भएको, २०४५ सालमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरबार घटना भएको इतिहास छ ।
त्यस्तै, २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जनआन्दोलन भएको र २०६४ साल जेठ ५ गते पसिना आउँदा राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापना भएको घटनालाई पनि यसै सन्दर्भसँग जोडेर हेर्ने गरिएको छ ।
त्यसैगरी, भीमसेनको शिलामा २०७० साल मंसिर ३० र फागुन १३ गते पनि पसिना आएको थियो । त्यस्तै पछिल्लो पटक २०७४ असोज १० गते आएको पसिनापछि स्थानीय तहसहित संघीय नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएको विश्वास समेत गरिन्छ । त्यसैले भिमसेनलाई पसिना आउनुमा कुनै परिवर्तनको संकेतका रुपमा बुझ्न सकिन्छ । यसले नकारात्मक संकेत मात्र गर्दैन कहिले निकै राम्रा परिवर्तन पनि भएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !