विराटनगर । विराटनगरमा सरकारी गाडीभित्र बेहाेस भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको छ । आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्रै उनलाई मंगलबार दिउँसो ३ बजेतिर बेहोस अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारका लागि नोबेल शिक्षण अस्पताल पु-याउनसाथ चिकित्कसले मृत घोषित गरेको राईले बताए । उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्रै चालक विराटनगर महानगरपालिका–३ मा बेहोस भेटिएका हुन् ।
घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नै अगाडि पर्छ । ‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि लग्यो,’ डीएसपी राईले भने, ‘अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।’ उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो पाइएकाले मृतकमा कोरोना संक्रमण भए÷नभएको यकिन गर्न पीसीआर परीक्षणको तयारी गरिएको छ ।
उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्थे । डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्रहरीले जनाएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका प्रमुख चूँडाराज ढकाल मन्त्रालयकै क्वार्टरमा बस्छन् ।
उनले आफूलाई लिन आउनुपर्ने चालकलाई बेहोस अवस्थामा फेला पारिएको खवर आएको र हेर्न जाँदा मृत्यु भएपछि आफूले भेटेको जानकारी दिए । ढकालका अनुसार मन्त्रालयबाट आफूलाई लिएर सुनसरीतर्फ जानका लागि गाडी लिएर चालक बिहान १० बजे नै मन्त्रालयमा आइपुग्नुपर्ने हो । ‘समयमा चालक नआएपछि धेरैतिर सोधीखोजी गरियो । बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ उनले भने, ‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्पर्क हुन सकेन ।
पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो ।’ चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् । मुख्यमन्त्री निवास अगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेका हुन् ।
चालक ढकालको मत्युको कारण खुलेको छैन । मृतकको शवको पोस्टमार्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत र यकिन विवरण प्राप्त हुने जानकारी डीएसपी राईले दिए ।अस्पतालले भने सबै सिसाहरु बन्द गरिएका कारण गाडीभित्र अक्सिजनको आपूर्ति रोकिएर श्वास फेर्ननसक्दा चालकको मृत्यु भएको हुनसक्ने जनाएको छ । मृत्युको अरु नै कारण पनि हुनसक्ने अस्पतालको भनाइ छ ।
**समाचारको पुरा भिडियो हेर्नुहोला**
आफ्नो प्रतिक्रिया दिनुहोस् !