काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आर्थिक सङ्कट सुधार गर्न वर्तमान सरकार गम्भीर भएर पहल नगरे आफ्नो पार्टी सती नजाने बताएका छन् । उनले आर्थिक सुधारका लागि प्रधानमन्त्रीलाई दबाब दिइरहेको भन्दै ती सुझाव कार्यान्वयन नगरे जुनसुकै बेला पनि आफ्नो पार्टी सरकार छोड्न तयार रहेको खुलासा गरे ।
‘सरकार छोड्न पनि सकिन्छ । हामी त्यो लेबलबाट पनि छलफल गरिरहेका छौँ’, पाण्डेले भने, ‘यदि यो सरकार करेक्सन भएन, ठिक ठाउँमा आएन र आजको आर्थिक सङ्कटको समाधानको प्याकेज ल्याउन सकेन भने यो सरकार वा गठबन्धनसँग सती जानु पर्छ भन्ने हामीलाई छैन ।’ पूर्वमुख्यमन्त्रीसमेत रहेका पाण्डेले २०८३ र ०८४ मा हुने चुनावमा गठबन्धनबिनै प्रतिस्पर्धा गर्ने दाबी गरे ।
प्रस्तुत छ पार्टी महाधिवेशन, सरकारको कार्यशैली, गठबन्धनको अवस्था, आर्थिक सङ्कटको समाधानलगायत समसामयिक विषयमा नेता पाण्डेसँग गरिएको कुराकानी-
माघमा तय भएको पार्टीको राष्ट्रिय महाधिवेशन जेठमा धकेल्नुपर्ने बाध्यता के आइपर्यो ?
महाधिवेशन सार्नुपर्ने दुई तीन वटा कारण छन् । एउटा कारण भूकम्प भयो । जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ मा गएको भूकम्पले जनधनको ठुलो क्षति गर्यो यो अवस्थामा हाम्रो पार्टीको शक्ति त्यसमा खर्चिएर सरसहयोग गर्नुपर्यो । अहिलेसम्म पनि हाम्रा स्वयंसेवक प्रभावित क्षेत्रमा खटेर अस्थायी घर टहरा निर्माण गरिरहनुभएको छ ।
अझै जनशक्ति थप्नुपर्ने कुरा पनि आइरहेको छ । दोस्रो कारण, माघमा हामीले तोकेको महाधिवेशनकै आसपास अर्थात् माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनको मिति तोकियो । तेस्रो हामीले यसबिचमा मेची–महाकाली अभियान चलायौँ । यो अभियान दक्षिणी भेगबाट सम्पन्न गरे पनि मध्यपहाडी भेग हिँड्न भ्याएनौँ । यसले गर्दा अब दुई तीन वटा काम गरेर मात्रै महाधिवेशनमा जाँदा राम्रो हुन्छ भन्ने लागेर मिति सारेको हो ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !