काठमाडौं । तनहुँ देवघाटकी ४५ वर्षीया सीता लामिछाने थापा क्षेत्रीले सोमबार श्रीमानलाई बोकेर दौडिने आँट गरिन् । त्यो पनि प्रतियोगितामा । सीताको बुई चढेका ५५ वर्षीय बमबहादुर क्षेत्री मुसुमुसु हाँस्दै थिए । सीताले गम्छाका नाम्लो बनाएर बमबहादुरलाई बोकी ५० मिटरको घेरा पार गेर फर्कनुपर्ने लक्ष्य थियो ।
सीता बमबहादुरसहित प्रतियोगितामा १४ जोडी सहभागी थिए । रेफ्रीले सिठी फुकेपछि सीता श्रीमान् बोकेर दौडिइन् । उनीहरुको जोडी तेस्रो स्थानमा निर्धारित दूरी पार गर्यो ।
‘अहिलेसम्म बोकेकी थिइनँ, यो पहिलो पटक हो’, सीताले खुशी हुँदै भनिन्, ‘खाशै दुख भएन । बुढेसकाल लागेर दौडिँदा थकाइ लाग्यो ।’ गाउँलेका अगाडि श्रीमान् बोकेर दौडिँदा केही अप्ठ्यारो महसुस भए पनि तेस्रो स्थानमा आउँदा खुशी लागेको उनले बताइन् ।
बुढेसकालमा यस्तो प्रतियोगितामा सहभागी हुँदा रमाइलो लागेको बमबहादुरले बताए । ‘बूढीले बोकेर तेस्रो बनाउँदा खुशी लाग्यो । रमाइलो अनि गर्व लाग्यो, उनले भने, यत्रो समाजको अगाडि बूढीले बोकेर हिँडदा अप्ठ्यारो त लागिहाल्छ नि । त्यसमा पनि बूढी पनि सक्षम छ भन्ने देखाउन पाइयो । मलाई गर्व लाग्यो ।’
देवघाट गाउँपालिकाले १११ औं नारी लिवसको अवसरमा यो प्रतियोगिता आयोजना गरेको हो । नारीको क्षमता प्रदर्शन गर्न प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बिमला लामाले बताइन् । कान्तिपुर
आफ्नो प्रतिक्रिया दिनुहोस् !