एजेन्सी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुलामञ्चलाई व्यक्तिगत सम्पत्ति जसरी बिक्री गर्ने काठमाडौं भ्युटावर बनाइरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवालसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भेटवालसहित छ जनालाई आयोगले पक्राउ समेत गरिएको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।
आयोगले नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत मर्ज भई बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. (हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.मा मर्ज भएको)मा नागरिक लगानी कोषको तर्फबाट सञ्चालकमा नियुक्त भई गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी सञ्चालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रक्रियाविपरीत कर्जा प्रवाहमा संलग्न भएको भन्दै १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिका सञ्चालकहरु छविरमण अधिकारी, रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सुबर्ण राजभण्डारी, बिष्णुप्रसाद धिताल र इच्छा बहादुर गुरुङले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरेको आयोगले दाबी गरेको छ।
उनीहरुले आफ्नो ओहदाको वा सोसम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको सम्पत्ति १ करोड ७५ लाख ६७ हजार ८ सय ९४ रुपैयाँ हिनामिना गरेको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ। त्यसको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुरुप सोही रुपैयाँ बिगो दाबी गर्दै एनसीसी बैंकलाई भराउन र कैद समेत हुनुपर्ने माग गर्दै आरोपपत्र दायर गरिएको छ।
आयोगले अरुणीमा हाउजिङ प्रालि का संचालक रोहित दाहाल र लेखनाथ दाहाल, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका संचालक मनोज कुमार भेटवाल, साविक एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत सन्तोष धिताल, अधिकृत सागर न्यौपाने, साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि का वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ रहेका छन् ।
त्यस्तै बरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट र अधिकृत प्रमोद भट्टराईले प्रतिवादीहरु रिता वादे श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्य, सुबर्ण राजभण्डारी, बिष्णु प्रसाद धिताल र इच्छा बहादुर गुरुङको मत सल्लाहमा लागेर सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानि नोक्सानी गर्ने कार्यमा संलग्नता पुष्टि भएकाले उनीहरुलाई पनि सोही रकम बिगो र कैद सजाय मागदाबी गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !