आँखा पाक्ने रोग एक अर्कालाई हेर्दैमा फैलिने होइन। हातले आँखा छुने अनि त्यही हातले अरूको आँखा छुँदा फैलिने हो। त्यही भएर हात धुनुपर्छ भन्ने हो। कोही बिरामी आँखा पाकेको छ भने उसले आफूले लगाउने चस्मा, रूमाल, सिरानीको खोल लगायत आफैंले सफा गर्नुपर्छ। बारम्बार साबुन पानीले हात धुनुपर्छ।
आँखा पाक्ने रोगको भाइरस छिटो फैलिन्छ। यो मौसम भाइरसका लागि उपयुक्त भएर हो। भाइरस सधैं एकै खालको हुँदैन। कोभिडमा जस्तै दूरी कायम गरेको भए आँखा पाक्ने रोग यसरी फैलिन्थेन। दूरी कम राख्दा रोग धेरै बढेको हो।
आँखा पाक्ने रोगका लक्षणहरू
-बिरामालाई आँखा अप्ठ्यारो भएको महसुस हुन्छ
-आँसु बढी आउँछ
-आँखामा केही परेजस्तो हुन्छ।
-आँखाको चालमा समस्या आउँछ
-आँखा सुन्निने
-आँखा रातो देखिने हुन्छ।
यो रोग लागेपछि निको हुन २ हप्ता लाग्छ। कतिपय बिरामीको कहिलेकाहीँ आँखाको नानीमा समस्या समेत देखिन सक्छ।कतिपय ठाउँमा जथाभावी एन्टिबायोटिक दिएको पाइन्छ। यो गलत हो। भाइरसलाई आफैं निको हुन समय दिनुपर्छ। त्यसैले हामीले आँखाको रातोपन र सुन्निने घटाउन औषधी दिन्छौं। कतिपय अवस्थामा एन्टिबायोटिक दिन्छौं। तर आँखा पाक्ने रोगको जथाभावी औषधि प्रयोग गर्नु हुँदैन। संसारमा एन्टिबायोटिक हजारौं छैनन्, तर रोग हजारौं/लाखौं छन्। हामीले अहिलेको मात्र सोचेर हुँदैन। पाँच वर्षको कुरा गरेर भएन। २० वर्षपछि एन्टिबायोटिक पाएन भने त्यो भन्दा नराम्रो केही हुँदैन।
सफा रूमाल सफा पानीमा भिजाएर चिसो बनाउन सकिन्छ। तर चिकित्सकको सल्लाहबिना पसलमा गएर औषधि किन्न हुँदैन।सबै व्यक्तिलाई एउटै औषधिले हुन्छ भन्ने पनि हुँदैन। एउटै व्यक्तिको दुई आँखामा अलग अलग समस्या भएको समेत हुन सक्छ। त्यो सबै छुट्याउने हामीले हो। आँखामा समस्या देखिन साथ अस्पताल जानुपर्छ। जसले गर्दा जटिलता हुन दिँदैन। प्रत्येक व्यक्ति आफैंले सचेतता अपनायो भने अहिलेको प्रकोप छिटो हट्न सक्छ।
भिडियो हेर्नुहोस्ः
(नेत्र रोग विशेषज्ञ डा. एलेना गुरूङ तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत छन्।)
आफ्नो प्रतिक्रिया दिनुहोस् !