काठमाडौं । टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेकाे भिडिओ भाइरल भएपछि रुपन्देहीकी माओवादी नेतृ शान्ति बरालले एआई प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या भएको दाबी गरेकी छन् । टिकटकमा एक पाेस्ट राख्दै बरालले चरित्रहत्या गर्ने उद्देश्यले आफू विरोधी मानिसहरूले त्यस्तो भिडिओ राखेको बताएकी हुन् ।
“हालै विभिन्न सामाजिक सञ्जालहरूमा आएको मेरो नामको भिडिओप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,” उनले लेखेकी छिन्, “उक्त भिडिओ आफ्नो नभएको र हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु ।”
उनले आफू राजनीतिक कार्यकर्ता भएको र नियमित टिकटक प्रयोगकर्ता भई आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी अकाउन्ट सञ्चालन गरेको उल्लेख गरेकी छिन् । टिकटकमार्फत आफ्नो सामाजिक सम्पर्क तथा समर्थकहरू देखेर पहिलेदेखि नै विरोधीहरूले चरित्रहत्या गर्ने धम्की दिँदै आएको उनकाे भनाइ छ ।
“केही उच्छृङ्खल व्यक्तिहरूले भिडिओलाई सम्पादन गरी अश्लील बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएको छ,” उनले पाेस्टमा लेखेकी छन् । उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले आफ्नो चरित्रहत्या गरेकाले कानूनी दायरामा ल्याउन उनले सरकारसँग मागसमेत राखेकी छिन् ।
“उक्त नक्कली भिडिओ सामाजिक सञ्जालहरूमा आएपछि पर्न गएको असुविधाप्रति सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी र मेरा सामाजिक सञ्जालहरूका समर्थकहरूमा क्षमा चाहन्छु,” उनले लेखेकी छिन् ।
टिकटकमा अश्लील हर्कत गरेको भन्दै नेकपा माओवादी केन्द्र, सैनामैना नगर समितिले साधारण सदस्यसमेत नरहने गरी बराललाई निलम्बन गरिसकेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !