काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औसतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको छ ।
विद्यालय मंगलवार देखि नै बन्द
काठमाडौ । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि मंगलवार देखि नै विद्यालयहरु बन्द हुने बताएको छ । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको भन्दै शिक्षा मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णष गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै कोभिड(१९ को संक्रमण तीव्ररूपमा फैलिनका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिएका छन्।
यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीस)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो । मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू ।’
विद्यालय बन्द हुने भए पनि परिक्षा भने स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न विज्ञप्तीमा भनिएको छ । विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !