काठमाडौं : नेपाली कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए ।
तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअघि नै धेरै पाहुनाको रुपमा आएका नेताहरू मञ्चबाट बाहिरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालसहितका अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन् ।
एमाले विभाजनपछि पहिलोपटक ओली, नेपाल र प्रचण्ड सहभागी सो मञ्चबाट उनीहरूसहित जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले महासचिव सिपी मैनाली आफ्नो सम्बोधन सकेर बाहिरिएका हुन् ।
ओलीले भाषण गर्ने बेला प्रचण्ड र माधव नेपाल उठेर हिँडे
एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।
ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !