पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधस्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग समेत गरेको छ ।
विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मुल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताए । उनले १२ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बहिर्गमनको निम्ति आन्दोलन गर्ने चेतावनी दिए । नेपाल आयल निगमले बुधवार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मुल्यवृद्धि गरेको थियो ।
मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीको चर्को विरोध
पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । राज्यका निकायकै मिलेमत्तोमा केही व्यापारीको स्वार्थमा परेर उपभोक्ताको ढाड सेक्ने काम भईरहेको उपभोक्ता अधिकारकर्मी माधव तिम्सिनाको आरोप छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा पनि बढ्दै गएकाले मूल्य समायोजन गर्न बाध्य भएको निगमले बताउँदै आएको छ । तर पेट्रोलियम पदार्थको मूल्य बृद्धिले बजार भाउमा पर्ने प्रभाव बारे पनि सरकार गम्भीर हुनुपर्नेमा उपभोक्ताकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !