जापानको सत्तारुढ पार्टी ‘लिवरल डेमोक्राटिक’ का सांसद तथा पूर्वराज्यमन्त्री तैरा मासाकीसहितको टोलीले नेपालका पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेको छ । नेपाल–जापान सम्बन्धलाई अझै दरिलो बनाउने उद्देश्यले बुधबार नेपाल आएको यो टोलीले बिहीबार दुई जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा माधवकुमार नेपालसँग भेट गरी छलफल गरेको हो ।
जापानी तीन सदस्यीय टोली गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष, संरक्षक तथा टिविआइ पब्लिकेसन्स्का अध्यक्ष भवन भट्टको निमन्त्रणमा आएको हो । दुवै प्रधानमन्त्रीका निवासहरु (बालकोट र कोटेश्वर) मा बिहीबार भएका छुट्टा-छुट्टै भेटमा सांसद तथा पूर्वराज्यमन्त्री मासाकीले दुई मुलुकबीच आर्थिक साझेदारी सहितको सम्बन्धलाई झनै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै उनले नेपालमा पर्यटन, जलस्रोतलगायतका क्षेत्रको विकासका लागि लगानी गर्ने उच्च सम्भावना रहेको आफूले पाएको पनि त्यसअवसरमा बताएका थिए । पछिल्ला वर्षहरुमा जापानमा जनसंख्या वृद्धिदर घटिरहेको बताउँदै जापानी प्रतिनिधिसभाका सांसद मासाकीले जापानमा दक्ष जनशक्तिको माग रहेको जानकारी दिए ।
‘अहिले केही नेपाली नागरिकले जापानमा काम गरिरहेको अवस्था छ,’ उनले भने ‘आगामी दिनमा नेपालबाट दक्ष जनशक्तिलाई पनि काम गर्न जाने मौका छ ।’ मासाकीले जापानमा नेपाली कामदार र दक्ष जनशक्ति भित्राउन आफुले संसदमा आवाज उठाउने प्रतिबद्धता पनि त्यसअवसरमा व्यक्त गरेका थिए ।
सत्ता गठबन्धनको सबैभन्दा बलियो साझेदार नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले आफू जापान जाँदा त्यहाँ देखेको विकास, सम्मृद्धि र संस्कृतिका बारेमा स्मरण गराएका थिए । अध्यक्ष ओलीले नेपालको कृषि, जलस्रोत, पर्यटनलगायत पूर्वाधार विकासका लागि जापानले धेरै सहयोग गरेको भन्दै सराहाना प्रकट गरेका थिए ।
‘नेपालका विकास साझेदारहरुमध्ये विना सर्त सहयोग गर्ने मुलुकहरु धेरै कम छन्,’ अध्यक्ष ओलीले भने ‘त्यसमध्ये कुनै पनि सर्त नराखेर सहयोग गर्दै आएको मुलुक जापान हो । म यसका लागि धेरै धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष ओलीले नेपाल अहिले विकास र सम्मृद्धिको बाटोमा लागेको र यसका लागि धेरै वित्तीय स्रोतको आवश्यकता पर्ने हुँदा विगतमा जस्तै आगामी दिनमा पनि जापानले सहयोग जारी राख्नेमा आफू आसावादी भएको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !