२९ माघ, काठमाडौं । सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकामा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले जनयुद्धको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
१ फागुन २०५२ मा तत्कालिन नेकपा माओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । उक्त बैठकमा राप्रपाका मन्त्रीहरु सहभागी भएनन् । राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् ।
एक मन्त्रीले भने, ‘अचानक मन्त्रिपरिषद बैठक बोलाइयो, जनयुद्ध दिवस एजेण्डामा छ भन्ने थाहा पाएपछि हामी गएनौं ।’ ती मन्त्रीका अनुसार मन्त्रीहरुलाई बैठकको एजेण्डा दिइएको थिएन । आइतबार विहान सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल हुँदा पनि यो विषय उठेको थिएन ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रुपमा मनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण भएको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !