काठमाण्डाैं । राजधानीको अक्षरा स्कुलले ‘अक्षरा बाल साहित्य महोत्सव’ आयोजना गरेको छ।
महोत्सवमा उपत्यका भित्रका सरकारी र संस्थागत गरि २५ भन्दा बढी विद्यालयका ४००० बढी विद्यार्थी र अभिभावकको सहभागिता थियो। महोत्सवका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकालाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थफूर्ण भएको बताए।
साहित्य विधा आफैंमा महत्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्नसक्ने उनले बताए। ‘हरेक मान्छे साहित्यकार बन्नसक्छ, यदि मनमा खेलेका कुरा काँटछाट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सके साहित्य जटिल विषय होइन। यसका विभिन्न फरक विधामा अभ्यास हुन जरूरी छ,’ उनले भने।
बालबालिकामा पठन संस्कृतीको विकास र विशेष गरी साहित्यमा ज्ञान अभिवृद्धि गर्न आयोजित महोत्सवमा विद्यार्थीहरू र शिक्षकहरुलाई भाषा शिक्षण, लेखन शिप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रणलगायतका विभिन्न शीर्षकमा साहित्य सम्बन्धी कार्यशाला गरीएको हो।
महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षामा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तक रमाइलो र अर्थपूर्ण तरिकाले कसरी शिक्षण गर्नै विषयमा अन्तरक्रिया गरिएको थियो। कोर्सको पाठ्यपुस्तकबाहेक पठन संस्कार विकास गर्ने उद्धेश्यले आयोजित महोत्सवमा लेखक निलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरीएको थियो।
कार्यक्रममा लेखकहरूले व्यवहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तकहरू बढी आवश्यक भएको बताए। उनीहरूले बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिन आवश्यक भए पनि हालसम्म बाल तथा किशोर साहित्य सम्बन्धी साम्रगी सहज उपलब्ध नहुनु दुखद् रहेको बताए।
विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरिरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले बाल साहित्य महोत्सवबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताइन्।
उनले व्यवहारिक ज्ञान र बौद्धिक क्षमता विकासका लागि साहित्य सम्बन्धी पुस्तकको ज्ञान दिइनु अत्यावश्यक रहेको बताइन्। उनले बाल सुलभ मष्तिकमा नै पठन संस्कार विकास गर्नसकेमा कालान्तरमा यसको दिर्घकालिन सकारात्मक प्रभाव पार्ने कुरामा विशेष जोड दिईन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !