मतदाता परिचयत्र नभएको खण्डमा परिचय खुल्ने कागजात देखाएर पनि मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण पनि गरिरहेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।
बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।
मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए ।
मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिन्छन् । यस वर्ष नयाँ मतपत्र छापिएको र हाल्न नजानेकाहरुको मतपत्र बदर हुनसक्ने भन्दै एकपटक मत हाल्ने तरिका सिक्न आवश्यक रहेको अधिवक्ता भूमिनन्द चुँडालले बताए ।
नव मतदाताहरु आफ्नो मताधिकार प्रयोग गरेर उचित नेतृत्व चयन गर्न उत्साहीत देखिएका छन् । उनीहरुले सम्बन्धित ठाउँमा आएर भोट हाल्ने तरिका सोधेर आफ्नो मताधिकारको उचित सदुपयोग गर्न सुझाव दिएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !