काठमाडौँ । युद्धग्रस्त इजरायलबाट नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ । नेपाल वायुसेवा निगमको ’एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए–३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उक्त जहाज बेलुका ९ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन् ।
जहाज दुबई ट्रान्जिट हुँदै इजरायल जानेछ । त्यहाँ नेपाली राजदूतावासको सम्पर्कमा आएका विद्यार्थीहरूलाई सुरूमा उद्धार गरिने मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सेवा लम्सालले जानकारी दिइन् ।
प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले शनिबार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो । अन्यले बंकरभित्र लुकेर ज्यान जोगाएका थिए । युद्धग्रस्त क्षेत्रबाट फर्कन ३५० भन्दा बढी नेपाली विद्यार्थीले फाराम भरेका थिए ।
आज गएको २७४ यात्रु क्षमताका वाइडबडी विमानमा २५४ जना विद्यार्थी नेपाल फर्कनेछन् । लगत्तै अन्यलाई पनि नेपाल फर्काइने प्रवक्ता लम्सालले जानकारी दिइन् । युद्ध जारी रहेकाले शव ल्याउन भने केही दिन लाग्ने उनले बताइन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !