काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनमा रहेको खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाण्डौ क्षेत्र नं ४ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका थापाले आज शुक्रवार आयोजित घरदैलो कार्यक्रममा महामन्त्री थापाले दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ’, उहाँले भन्नुभयो । आउँदो दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को चुनावमा भोट माग्न नआउने उहाँको भनाइ छ ।
महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभयो । बूढानीलकण्ठ नगरपालिकाको वडा नं ११ र १२ हुँदै वडा नं १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ ।
उहाँले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना को प्रस्ताव अघि बढाएको बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !