काठमाडौँ — जहाजले जब नेपाली भुँई टेक्यो, यात्रुहरू ताली पड्काउन थाले, खुसीले कराउन थाले । यसपटक यात्रुको त्यो होहल्लामा विमानका चालक र क्याबिन क्रु पनि खुसी थिए । र खुसी देखिन्थे त्यही विमानमा सवार परराष्ट्रमन्त्री एनपी साउद पनि ।
ग्रिनेड र बारूदबाट बाँचेर देश फर्किंदा…
शुक्रबार बिहान साढे दुई बजे द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरूलाई उद्धार गरेर फर्किएको जहाज अवतरण हुँदा त्रिभुवन विमानस्थलमा यात्रुको खुसी आँखाबाटै छचल्कियो ।
बंकरबाट उम्किएर मातृभूमि आइपुगेको खुसी । बम र बारूदबाट भाग्दै–भाग्दै बाँचेर आफ्नो देश फर्किंदाको खुसी । भोक, प्यास र सन्त्रासबाट मुक्ति पाएर घर फर्किंदाको खुसी । सँगै गएको साथी गुमाएर आफू आफ्नी आमाको काखमा फर्किंदाको खुसी । खुसीले कोही भक्कानिए, कोही कराए र कोही चिच्याए ।
आफन्तको अँगालोमा बाँधिएर आफू बाँचेकोमा एकपटक खुसी मनाए । सरकारले पढाई र रोजगारीकालागि इजरायल पुगेका २५४ जना नागरिकलाई हवाई उद्धार गरेर स्वेदश फिर्ता ल्याएको छ । आधा रातमा विमानबाट ओर्लिएका उनीहरूलाई बाहिर आफन्त र सञ्चारकर्मीको भिडले स्वागत गरिरहेको थियो । तर उनीहरूले धन्यवाद भने सरकारलाई भनिरहे ।
शुक्रबार उद्धार गरेर नेपाल ल्याइएकामध्ये अधिकांश विद्यार्थी हुन्, त्यसमाथि पनि धेरैजसो एक महिना, दुई महिनाअघि मात्रै इजरायल पुगेका । देश छोडेर जानेबेला उतै भविष्य बनाउने सपना देखेका उनीहरू शुक्रबार देशकै गुणगान गाउँदै फर्किए ।
‘मिसाइल, बम र बारूदको आवाजले मन खाइसकेको थियो । डरको त कुरै नगरौँ । तीन दिन बंकरमा बिताउँदा घरको, देशको धेरै याद आएको थियो, तर यति छिट्टै फेरि देश फर्कुंला भनेर सोचेकै थिइनँ,’ कालिकोटका धनकृष्ण आचार्यले भने, ‘सरकारले हामीलाई यति महत्त्व दिएर उद्धार गर्यो कि मनमनै लागिरहेको छ, सरकार त जिउँदै रहेछ ।’
उनी बसेको ठाउँ द्वन्द्वग्रस्त गाजाभन्दा निकै टाढा नै हो । तर मिसाइल र बम बारूद भने त्यहाँ पनि आइपुग्यो । उनीहरू हमासले आक्रमण गरेको तेस्रो दिनदेखि हताहतमा परे ।
‘हामी कृषि फार्ममा काम गर्थ्यौ, त्यो दिन खाना खाँदै गर्दा हाई अलर्ट भनेर मेसेज आयो, त्यसपछि भागाभाग मच्चियो,’ उनी भन्छन्, ‘दुई दिन कृषि फार्मकै बंकरमा लुक्यौँ । त्यसपछि सेनाले हामीलाई सामुदायिक बंकरमा सार्यो । त्यहाँबाट बल्ल उद्धार भयो ।’
कैलालीका धनबहादुर चौधरी भने प्रत्यक्षरुपमै हमास आक्रमणमा परे । तर कसो कसो उम्किएर ज्यान जोगाउन सफल भए । उनीसँगै रहेका साथीहरू भने केहीले ज्यान गुमाए, केही घाइते भएर अस्पतालमै उपचाररत छन् । चौधरी भने ग्रिनेड पड्किएर खुट्टामा लागेको गहिरो घाउ र कम्मरमुनि दर्जनौँ गोलीका छर्राका चोटैचोट बोकेर घर फर्किएका छन् ।
विमानस्थलमा भेटिँदा उनको अनुहारमा बम र बारूद गडिएको त्रासदीको डोब कायमै देखिन्थ्यो । पढ्ने र दुई पैसा कमाउने सपना बोकेर सकुशल इजरायल पुगेका उनी ह्विवीलचियरमा फर्किएका छन् । ‘त्यतिबेला त अब बाँचेर देश फर्किन पाउँछु जस्तो लागेको थिएन, तर बाँचेँ,’ उनले भने । अनुहारमा खुसीको भाव त थिएन, तर उनले पनि बाँचेर फर्किन पाएकोमा खुसी लागेको बताए ।
उद्धार विमानबाटै फर्किएका कोहलपुरका दिनेश शर्मा बाहिर आउने बित्तिकै दिदी मायाको अँगालोमा कसिए । उनका आँसु थामिएनन् । ‘गएको एक महिना १२ दिनमात्रै भयो । तर जाने बेला बरू रोएको थिइनँ,’ दिदीसँग बहकिएका उनले अघि भने, ‘अहिले बाँचेर फर्किन पाएकोमा खुसीले भावुक भएछु ।’
रामपुर क्याम्पसबाट कृषि विज्ञान पढ्न इजरायल पुगेकी सिरहाकी शोभा पासवानले धेरैलाई इजरायल जानुभन्दा अघि त्यहाँको यस्तो अवस्थाबारे थाहा नभएकोमा गुनासो गर्दै उद्धार गर्ने सरकारलाई धन्यवाद दिइन् । ‘म त अहिले पनि ट्रमामै छु । तर जे भएपनि सुरक्षित भएर देशमा फर्किंदा खुसी लागेको छ,’ उनले भनिन्, ‘तर खुसीजत्तिकै दुःख पनि छ, सँगै गएका साथीहरू गुमाएर आएका छौँ ।’
शोभाले काम गरिरहेको कृषि नर्सरी र गाजाबीचको दुरी ६ किमि मात्रै थियो । उनी जोगिएर आएको क्षेत्र आक्रमणको प्रत्यक्ष मारमा पर्यो । ‘अचानक बंकरमा बस्नुपर्ने अवस्था भयो । न खानेकुरा, न पिउनेपानी । बम पड्किरह्यो, मिसाइल खसिरह्यो,’ उनले भनिन्, ‘२४ घण्टासम्म बाहिर आउने अवस्था नै भएन, शौच गर्न जाँदासमेत ज्यान जाने त्रास भयो ।’ उनले काम गर्ने फार्ममा १८ जना थिए, दुई दिनसम्म उनीहरूले भोकभोकै नर्सरीकै बंकरमा बिताए ।
त्यसपछि उनीहरूलाई नयाँ ठाउँमा सुरक्षित गरियो । चौथो दिनपछि बल्ल दूतावासले उद्धार गर्यो । बझाङका सुरज बन्दीले पनि त्यस्तै अनुभव सुनाए । दुई महिनाअघि गएका उनी फरेष्ट्रीका विद्यार्थी हुन् । बन्दी भने आफूहरूलाई थाइल्याण्ड सरकारले जोगाएको बताउँछन् ।
‘अहिले नेपाल सरकारले उद्धार गर्यो ।तर म त थाइल्याण्ड सरकारले गर्दा बाँचेर आएँ, नभए त त्यही मरिसक्थेँ,’ उनले भने ।
उनी ४३ घण्टा बंकरमा थुनिएका थिए । केही नेपालीसहित थाइल्याण्डका कामदारहरू एउटा बंकरमा थुनिएका थिए । ‘नेपाल सरकार, दूतावासको अत्तोपत्तो थिएन । तर थाइल्याण्डले आफ्ना नागरिकको उद्धार गर्दा हामीलाई पनि सुरक्षित ठाउँ पुर्यायो,’ उनले भने, ‘त्यसपछि बल्ल हामीलाई दूतावासले उद्धार गर्यो ।’
इलामका डोबराज थापाले पनि जीवन जोगाएर फर्किएकोमा खुसी व्यक्त गरे । ‘जाने बेला त्यहाँको बारेमा यति धेरै थाहै भएन । तर जे भएपनि जीवन जोगाएर आइयो । अब बाँचियो,’ उनले भने ।
इजरायलमा हमास आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् ।
सरकारले उद्धार र स्वदेश फिर्ताकालागि दूतावासमार्फत् आवेदन माग गरेकोमा ५५७ जनाले दूतावासमा सम्पर्क गरेका थिए । त्यसमध्ये ५०३ जना स्वदेश फर्किन चाहन्थे । उनीहरूमध्ये २५४ जनालाई शुक्रबार विमानमार्फत् उद्धार गरेर स्वदेश फर्काइएको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।
आवेदन दिनेमध्ये सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका ५४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । ‘अब फेरि स्वदेश फर्किन चाहनेहरूका लागि समेत सरकारले आवश्यक पहल गर्नेछ,’ उनले भने, ‘घाइतेहरूको उपचार र बेपत्ताको खोजी कार्यमा समेत सरकारले पहल जारी राख्नेछ ।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !