पोखरा । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य कृष्ण धिताल गण्डकी प्रदेशको मन्त्री हुन चाहन्थे ।
२०७० सालमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भए पनि सुविधाको पदमा नपुगेका धिताल एक पटक मन्त्री बनेर विकासका काममा जोडिन जोडबल गरिरहेका थिए ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठकै जोडबलमा टिकट पाएका धितालले जसरी पनि मन्त्री बन्न कसरत गरेका थिए । तर, माओवादी संसदीय दलले अनुभवी सांसदले प्रदेश सभाको नेतृत्व गर्नुपर्ने निर्णय गरेपछि सभामुखको उम्मेदवार बन्न पुगे ।
सत्तारुढ दलको भागबण्डामा मुख्यमन्त्री नेकपा एमालेलाई र सभामुख माओवादीलाई परेपछि निर्वाचित हुने पक्का थियो । अन्तत मन्त्री ताकेका धिताल शनिबार गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित भएका छन् ।
६० सदस्यीय प्रदेशसभामा उनले नेकपा एमालेका २१, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसदको मत पाए । उनीसँग प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मत पाइन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !