राजा-रंक सबै समान उसका वैशम्य गर्दैन त्यो
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।
काठमाडौँ – विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।
नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।
इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।
‘बेलाइततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।
शर्माले ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो ।
शर्माका भतिजा दीपेन्द्रनाथ शर्माका अनुसार लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।
भतिजा शर्माका अनुसार, मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ । शर्माका दुई छोरा र श्रीमती रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !