काठमाडौं । आपसी तिक्तता बढिरहेका बेला एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएपछि अहिले नेताहरु आउँन सुरु गरिसकेका छन् ।
भेटवार्ताका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू वार्ताका लागि पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
ओली र नेपाल पक्षबीच हुन लागेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट आइपुगेका छन्। ओली समूहबाट अर्थमन्त्री बिष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली धुम्बाराही पुगेका छन्।
भेटवार्ताका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो सरकारी निवास बालुवाटार बोलाएका थिए । तर, माधव पक्षले त्यहाँ जान अस्वीकार गरेपछि पार्टी मुख्यालय धुम्बाराहीमा भेटवार्ता हुने भएको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता दुई पक्षबीच औपचारिक भेटघाट भएको छैन । संसद विघटनविरुद्ध सडक संघर्ष गरेको नेपाल पक्ष तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएको थियो । पुस २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरि एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिए पनि ओली र नेपाल पक्ष एकै ठाउँमा बसेका छैनन् ।
शुक्रबार ओलीले एकपक्षीय रुपमा पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि नेपाल पक्ष रुष्ट देखिन्छ । ओलीको निर्णयलाई चुनौती दिँदै नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गरेको छ ।
दुई पक्षबीच तिक्तता बढिरहेका बेला आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै प्रधानमन्त्री ओलीले चियापान कार्यक्रम समेत राखेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !