काठमाडौं। भारतले नवनिर्मित संसद भवनको भित्तामा अखण्ड भारतको नाममा नेपालको भूभाग समेटिएको नक्सा सार्वजनिक गरेपछि नेपालमा ग्रेटर नेपालको चर्चा सुरु हुन थालेको छ।
भारतले आफ्नो संसद भवनमा मुरल नक्सा सार्वजनिक गर्दै नेपालको कपिलबस्तु र लुम्बिनी समावेश गरेपछि अहिले नेपालको ग्रेटर नेपालको नक्साबारे बहस पेचिलो रुपमा सतहमा आएको छ।
सुगौली सन्धी अघि अंग्रेज स्वशासित भारतमा गाभिएको नेपालको भूमि आज भारतको अधिनस्थ रहेको छ। सोही भारतीय भूमि अंकित तत्कालीन विशाल नेपालको नक्सा अहिले नेपालमा बहसमा आएको हो।
नेपालले अंग्रेज स्वशासित भारतसँग सन १८१६ मा गरेको उक्त सन्धीले बाध्यात्मक रुपमा एक तिहाइ भूमि गुमाउन पुगेको थियो। त्यस अघि नेपालको सीमा पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म फैलिएको नेपालको विशाल भूभाग रहेको थियो।
आजको आकारमा सीमित भएको नेपालको पनि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि सुगौली सन्धीले गुमेको भूमि हो। तथापि भारतमा सन १८५७ मा भएको सिपाही विद्रोह दबाउन नेपालले अंग्रेजलाई गरेको सहयोग पछि नेपाललाई फिर्ता दिइएको हो।
अंग्रेजसँग गरिएको सुगौली सन्धीमार्फत गुमाएको भूमिमा नेपालको दाबी रहेको बताउँदै ग्रेटर नेपालको अभियान सुरु गरेका फणिन्द्र नेपालले यस मुद्दामा उल्लेख्य सफलता हासिल गर्न सकिरहेका थिएनन्।
उनले लामो समयदेखि यही ग्रेटर नेपालको मुद्दा बोकेर अभियान सुरु गरिरहेका छन्। तथापि उनको अभियानले बृहत आकार नलिएपनि पछिल्लो समय उनको मुद्दा प्रखर रुपमा सतहमा आएको छ।
यसले एक पटक फणिन्द्र नेपालको अभियानलाई पुर्नताजगी गराएको छ। प्राध्यापन पेशामा संलग्न उनले ग्रेटर नेपालको मुद्दालाई प्रखरताका साथ उठाउँदै अंग्रेज अधिनस्थ भूमि भारतको हुनै नसक्ने दाबी गर्दै आइरहेका छन्।
उनले कानूनी रुपमा समेत उक्त भूमि नेपालकै भएको तथ्यहरु पेश गर्दै ग्रेटर नेपालको पक्षमा वकालत गर्दै आएका छन्। यद्यपि हालसम्मै राज्यस्तरबाट यसमा कुनै पहल भएको छैन।
कतिपयले यसलाई भावनात्मक पक्षसँग मात्रै जोडेर हेर्ने गरेका छन्। राष्ट्र कवि माधवप्रसाद घिमिरेको राष्ट्रिय गीतमा ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं। कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं’ भन्ने पंक्तिले नेपालको तत्कालीन सीमाको स्मरण गराउँदछ।
नेपालले अंग्रेजसँग गरेको उक्त सन्धी स्वतन्त्र राष्ट्रको हैसियतले भारतसँग पहिलोपटक गरिएको सन १९५० को नेपाल भारत मैत्री सन्धीले विस्थापन गरेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक नेपालले तर्क गर्दै आएका छन् ।
तर, त्यसयता कायम गरिएको नेपालको सीमा समेत भारतबाट अतिक्रमित हुँदा मूकदर्शक बनेको सरकारलाई ग्रेटर नेपाल पुनःप्राप्ति भन्दा पनि हालकै सिमाको सुरक्षा गर्न असमर्थ बनेको अवस्थामा ग्रेटर नेपाल आत्मरतिको विषय मात्रै बन्ने देखिन्छ।
राष्टूकविको गीतमा व्यक्त गरिएजस्तै ग्रेटर नेपालको नक्साले विगतको गर्विलो इतिहासको बोध गराउँदै वर्तमानको सीमा अतिक्रमणको दूरावस्थाको चित्रण गराउने स्थिति आज विद्यमान छ।
नेपालका शासकहरुले भारत सामु हाल कायम रहेको नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता लगायतको विषयमा मौनता प्रकट गर्ने नेताहरुबाट ग्रेटर नेपालको अपेक्षा गर्नु व्यर्थ छ।
अंग्रेज शासनबाट भारत मुक्त भएको समय सन १९४७ मा नेपालले कानूनी रुपमा दाबी गरेको भए उक्त भूमि सम्भवतः नेपालको मातहत हुन सक्ने अवस्था रहन्थ्यो होला। तर विद्यमान भूगोल भारतले नक्सामा समेट्दा पनि भारत सामु नतमस्तक हुँदै अहिलेका शासक प्रतिक्रियाविहीन देखिएका छन्।
भारतले गरेको सीमा अतिक्रमणको विरुद्धमा आवाज उठाउन नसक्ने हालका शासकहरुले अहिलेकै सीमाको रक्षा गर्न असमर्थ भएका छन्। तसर्थ ग्रेटर नेपालको नक्सा सांकेतिक रुपमा भारतको हेपाहा प्रवृत्तिको जनस्तरबाट विरोध गर्ने अस्त्रका रुपमा मात्रै लिन सकिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !