काठमाडौं । नेकपा एमाले एकताको पाटो अब करिब सकिएको संकेत नेताहरुले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति जुट्न नसकेका कारण एकताको सम्भावना कम हुँदै गएको हो । तर पार्टी भित्रै संघर्ष गर्ने निर्णय सहित सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको माधव समुहलाई सरकारमा सहभागी गराउने प्रयास पनि विपक्षी दलको छ ।
आफुलाई प्रधानमन्त्री बन्न मुख्य भूमिका खेलेका नेपाल पक्षलाई सरकारमा सहभागी गराउने चाहना देउवाको छ । तर नेपाल पक्ष सरकारमा जान चाहन्न । एमाले भित्र एकताका लागि प्रयास जारी रहेकै कारण तत्काल सरकारमा जान नचाहेको नेपाल पक्षले संघीय संसदको प्रतिनिधि सभामा उपसभामुख रिक्त रहेको पदमा भने चासो देखाएको चर्चा चलेको छ ।
सो पद रिक्त रहेको २० महिना पुग्न लागेको छ । दुई दुईपटक विघटन भएको प्रतिनिधि सभालाई लामो राजनीतिक र कानुनी संघर्षपछि पुनर्स्थापना गरिए पनि उपसभामुख चयन हुन सकेको छैन ।
२०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रिक्त भएको हो । सरकारमा जान नमिल्ने भएपछि नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने बताएको बताइएको छ । संवैधानिक व्यवस्थाअनुसार एउटै दलको र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न पाउँदैनन् ।
माओवादीका नेता अग्नि सापकोटा सभामुख भएका कारण सोही पार्टीवाट उपसभामुख बन्ने सम्भावना छैन । अब माओवादी बाहेकका दलबाट महिलालाई उपसभामुख बनाउनु पर्ने संवैधानिक बाध्यता छ ।
यसर्थ एमालेको नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने गठबन्धनमा कुरा राखेको बुझिएको छ । नेपाल समूहबाट महिला उपसभामुख हुने भएकाले सांसद रामकुमारी झाँक्रीको नाम चर्चा रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !