एजेन्सी । प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा उपप्रधानमन्त्री लाने मुड छैन । गठबन्धन आबद्ध दलका केही शीर्ष नेताहरू पनि प्रधानमन्त्री देउवाको मुडमा सहमत छन् । तर अन्य केही नेताहरू भने उपप्रधानमन्त्री नभए सरकार विस्तारमा झनै किचलो गर्ने सोचमा छन् ।
काँग्रेस भित्रैको पनि संस्थापन इतर समूहले प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्रीसहितको दाबी गरिरहेको छ । उपप्रधानमन्त्री पाए इतर समूहका प्रकाशमान सिंह आफैँ सरकारमा जाने सोचमा छन् । यस्तै नेतृ सुजाता कोइराला पनि सोही दाउमा छिन् ।
यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादव पनि उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व आफैँ गर्ने दाउमा छन् । यस्तै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्रीसहित सरकारमा नेतृत्व गरेर जाने सोचमा छन् ।
तर प्रधानमन्त्री देउवा भने दल नै पिच्छे उपप्रधानमन्त्री बनाउने सोचमा छैनन् । यस्तै कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा पनि अहिले सम्म शीर्ष नेताहरू बिच ठोस छलफल भएको छैन ।
उच्चस्तरीय राजनीतिक संयन्त्र पनि कारक
सरकार सञ्चालनका लागि गठबन्धन आबद्ध दलहरूबिच उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने की नबनाउने भन्ने विषयमा पनि समस्या छ ।
प्रधानमन्त्री र सरकारलाई काम कारबाहीमा सुझाव दिने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने माओवादी केन्द्र र एमालेको नेपाल समूहको माग यसअघिको सरकार हुँदा देखिकै हो । तर अहिले भने यो विषयमा नेताहरू खुलेर बाहिर बोल्न सकेका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषयलाई एक पटक बालुवाटार पुगेर प्रधानमन्त्री देउवाको कानमा सुनाइसकेका छन् । तर देउवाको प्रस्ट जवाफ प्रचण्डले पाएका छैनन् ।
सो विषयमा प्रचण्ड असन्तुष्ट भएको हो की भन्ने अनुमानपछि प्रचण्ड बालुवाटारबाट फर्केकै दिन देउवा प्रचण्ड पत्नी सीता दाहाललाई भेट्ने बहाना बनाएर उनको खुमलटार निवास पुगेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !