खोटाङ । कोभिड महामारीका कारण विद्यालय संचालन भएका छैनन् । जसका कारण विद्यार्थीहरु अनलाइन क्लास लिइरहेका छन् । सुगम स्थानमा बस्ने विद्यार्थीका लागि यो सजिलो उपाय हो । तर ग्रामिण भेगमा बस्ने विद्यार्थीका लागि भने अनलाईन क्लास फलामको च्युरा भएको छ । एक जना विद्यार्थी धनकुमार मगरले अनलाईन क्लास पढ्न गरेको मेहनतले सबैको ध्यान तानेको थियो ।
अहिले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका(१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मगरलाई राईले मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गरेकी हुन् ।
रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका वडाध्यक्ष रमेश राउतसहित अर्खौले पुगेका थिए । महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन भएकाे थियो ।
यसरी अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताए । हाल उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !