काठमाडौं । दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट गर्दै घर निकाला गर्ने डाक्टर पक्राउ परेका छन् ।
श्रीमती नेहा चौधरीलाई कुटपिट गरेर घर निकाला गरेको आरोपमा डा पंकज चौधरी पक्राउ पर्नुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकज मंगलबार साँझ पक्राउ परेको प्रहरीले जानकारी गरायो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले पनि यसको पुष्टि गर्नुभयो ।
नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको हो । गत कार्तिक ४ गते नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसा सम्बन्धी उजुरी दर्ता गराउनु भएको थियो । त्यस बखत पनि पंकज तीन दिन कारागार बस्नु भएको थियो । अहिले दाइजो विरुद्धको कसूरमा चौधरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।
अहिले उहाँलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । गत फागुनमा महोत्तरीकै औरही नगरपालिका–१ की नेहासँग डा पंकजको सामाजिक परम्परा अनुसार विवाह भएको थियो । बिहेअघि तीन वर्ष प्रेम सम्बन्धमा रहेका उनीहरू विवाहमा केही दिनभित्र तनाव सुरु भएको हो ।
माइती पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ बिहेमा खर्च गरेको थियो । बिहेको केही महिनापछि दाइजोको कुरा निकालेर पंकज र परिवारले यातना दिने गरेको भन्दै नेहाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभयो । अहिले उहाँ माइतमा बस्दै आउनु भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !