काठमाडौं । नेपालमा आन्तरिक उडानतर्फ हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९एन–एएनसी विमान आइतबार बिहान १०ः५० बजे पोखराको सेतीखोचमा दुर्घटना भएको हो ।
विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको अनुमान गरिएको छ । तीमध्ये साँझसम्म ६८ जनाको शव प्राप्त भइसकेको छ भने चार जनाको खोजी जारी रहेको छ । विमानको ब्ल्याक बक्स पनि भेटिएको छैन ।
दुर्घटनाग्रस्त विमान फ्रान्स र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसबाट निर्माण भएको एटीआर ७२ ५०० रहेको छ । नेपालमा एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको यो ११औँ दुर्घटना हो ।
भिडियो हेर्नुस्ः
@harimanandhar73 Pokhara plane crash 2023-0-15 #foryoupage #fyp #trending #goviral #viralvideo ♬ original sound – AP1HD Television
नेपालमा सर्वप्रथम एटीआर विमान नेकोन एयरले सन् २००० अप्रिल २५ मा ल्याएको थियो । नेकोन एयर हाल बन्द भइसकेको छ । हाल यती, बुद्ध एयर र यती एयरलाइन्सले एटीआर विमान सञ्चालन गरिरहेका छन् । युरोपेली सङ्घले लगाएको हवाई प्रतिबन्ध हट्ने अपेक्षा गरिएको बेला भएको यो दुर्घटनाले नेपाली आकाशको सुरक्षामा थप प्रश्न उठेको छ । नेपालमा हवाई दुर्घटनापछिको प्रतिवेदनको आँकडा हेर्दा अधिकांश विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्षका प्रतिवेदन आउने गर्दछन् ।
त्यससँगै व्यवस्थापकीय कमजोरी, दबाब, प्रतिस्पर्धा, पुराना मोडलका जहाज, हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने, लापरबाही र भौगोलिक अवस्थालगायतका कारण दुर्घटना हुँदै आएका उड्डयन क्षेत्रका विज्ञहरू बताउँछन् । त्यस्ता त्रुटि कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनमा जोड दिनुपर्ने आवाज त्यत्तिकै उठ्नेगरेको छ ।
१० सेकेन्डमा दुर्घटना
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा चालकदलका सदस्यहरू कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक पाँच जना, रुसी नागरिक चार जना, कोरियाका दुई जना, आयरल्यान्ड, अर्जेन्टिना, फ्रान्सका एक–एक जना यात्रु थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी अनुप जोशीले दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको भए पनि १० सेकेन्डपछि नै खसेको बताए । उनका अनुसार विमानको प्राविधिक कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । अवतरणको अनुमति उनले नै दिएका थिए ।
प्रत्यक्षदर्शी विष्णु तिवारीका अनुसार जहाज अवतरणका लागि कम उचाइमा आइरहेको बेला अस्वाभाविक रूपमा कोल्टे परेको थियो । उनले भने– “केही सेकेन्डमा विमान बजारिएको आवाज आयो र हामी छ जना तत्काल उद्धारका लागि खटियौँ । आगोको लप्काले म पनि सामान्य घाइते भएँ । हामीले उद्धार गरेका एक यात्रु जीवितै थिए । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हुनसक्छ ।”
अर्का प्रत्यक्षदर्शी पत्रकार गोविन्द सुवेदीले जहाज किन यता आयो भन्ने लागेको आशङ्का हुँदाहुँदै जहाज एकाएक दुर्घटना भयो । नयाँ विमानस्थलतर्फ अवतरण गर्न मोडिएको अवस्थामा विमान घना बस्तीमाथि उडिरहेको थियो । सम्भवतः चालकले बस्तीमा विमान खस्नबाट जोगाउने प्रयास गरेका थिए ।
दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी छ सयका साथै पोखरा महानगर प्रहरीसहितको टोलीले उद्धार गरेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !