सुदूरपश्चिम प्रदेशमा सभामुख चयन गर्न आज प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभा बैठक बस्नुअघि सर्वदलीय बैठक पनि बसेको छ।
सोमबार बिहान ८ बजेदेखि सर्वदलीय बैठक बसेको हो। बिहान ९ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक भने आधा घन्टाका लागि सरेको छ। यसअघि गत शनिबार बसेको प्रदेश सभा बैठकले सभामुख चयन गर्न सकेको थिएन। नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि त्यस दिन सभामुख चयन हुन सकेको थिएन।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले दुई मन्त्री नियुक्त गर्दा सत्ता साझेदार दलहरूसँग छलफल नै नगरेको आरोप पनि छ। यही विषयमा नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट छ। यसैकारण सभामुख चयन गर्न २ पटक निर्वाचन भए पनि सभामुख चयन हुन सकेको छैन।
नागरिक उन्मुक्ति पार्टीबाट सुदूपश्चिम प्रदेश सभामा ७ जना सांसद छन्। उनीहरू सभामुख चयनका लागि निर्णायक छन्। संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था छ। त्यसैले आज सभामुख चयन गरिसक्नुपर्ने दवावमा सत्ता साझेदार दलहरू छन्।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ जना सांसद छन्। यस्तै राप्रपा १, स्वतन्त्र १ सासंद छन्। यहाँ सभामुख चयनका लागि कम्तिमा २७ मत चाहिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !